Logo

महाधिवेशन गर्न नसक्ने नेतृत्व निकम्मा हो



अहिले मुलुक र नेपाली कांग्रेसको ‘स्टेरिङ’ शेरबहादुर देउवाको हातमा छ । उनी १८ महिना या २ वर्षसम्म मुलुकका प्रधानमन्त्री बन्नेछन् भने कांग्रेसको सभापति झन्डै दुई कार्यकाल अर्थात् साढे ५ वर्ष चलाइसके ।

अहिलेको जल्दोबल्दो मुद्दा कांग्रेसको चौधौं महाधिवेशन हो । चार वर्ष हुनुपर्ने नियमित अधिवेशन अहिलेसम्म हुन सकेन । कांग्रेसको विधानमा चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो भने देशको संविधानलाई समातेर विशिष्ट अवस्था भन्दै ६ महिना थपियो । र, यति गर्दा पनि महाधिवेशन हुने स्थिति छैन । अहिलेसम्म कांग्रेस महाधिवेशनको मिति पाँच पटक सरिसक्यो । अब महाधिवेशन हुन चमत्कार हुनुपर्छ ।

मेरो विश्लेषणमा देउवाले पार्टी चलाउन सकेनन् । उनको नेतृत्वमा कांग्रेसले राष्ट्रिय स्तरका तीनवटा निर्वाचन हार्यो । लोकतन्त्रमा यसको जिम्मेदारी पार्टी सभापति (महामन्त्रीेले समेत) ले लिनुपर्ने हो । लिएनन्, कम्युनिस्ट एकतालाई दोषको भारी बोकाए ।

कांग्रेसको उमेर ७५ वर्ष भयो । कांग्रेस कहिले जेल कहिले निर्वासनमा छ, तर ढिलोचाँडो विधान अनुसार महाधिवेशन भइरहेको थियो । अब त कांग्रेस संवैधानिक संकटमा परिसक्यो । पार्टी विधान र संविधानको दुहाई दिएर सर्यो । अब कांग्रेस सभापति र केन्द्रीय समिति अवैधानिक भैसक्यो । भोलि अदालतले पार्टीका तलदेखि माथिसम्मका निकायलाई अवैधानिक भनिदिन सक्छ । कांग्रेसका सबै सांसद स्वतन्त्र हुन सक्छन् । त्यसैले महाधिवेशन सार्नु गम्भीर त्रुटि हो । एकपल्ट, दुईपल्ट पो क्षमा हुन्छ, पाँचपटक कसरी हुन्छ ?

अहिले महाधिवेशनको मिति तीन महिना थप्ने प्रयास भइरहेको छ । तर त्यसका लागि कुनै वैधानिक प्रावधान छैन । कसैले पनि अपजस लिन चाहेका छैनन् । कलंक बोक्न चाहन्नँ भन्ने देउवाले पनि मुख खोलेका छैनन् । अब तीन महिना सर्यो भने डेढ वर्ष या तीन वर्ष महाधिवेशन सर्छ ।

शेरबहादुरजीसित मेरो भेट नभएको लामो समय भैसक्यो । उनी भेटघाटमा रुचि पनि राख्दैनन् । उनी नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री हुँदा कांग्रेसको प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २१, २२ सिट आयो । कांग्रेसलाई निकम्मा बनाउँदा सबैभन्दा क्षति त देउवा एन्ड कम्पनीलाई नै हुन्छ । कांग्रेसजस्तो पार्टी वैधानिकता गुमाउन अभिशप्त हुनु दुर्भाग्य हो । अब कांग्रेस चल्छ कसरी ?

कांग्रेस नेतृत्वमा बस्नेलाई पार्टीको पटक्कै चिन्ता छैन । त्यसैले अहिले कोरोनालाई दोष दिएर पन्छिँदै छन् । संसारभरिका दृष्टान्त छन् । कोरोनाकालमा संसारभरि नै चुनाव भएका छन् । छिमेकी भारत, अमेरिका, फ्रान्स जताततै चुनाव भए । पाँच पटक सार्दा त अधिवेशन गर्न नसक्ने नेतृत्वले तीन तहको निर्वाचन कसरी गर्न सक्ला ? अब प्रश्न उठेको छ, त्यस्तो नेतृत्वले देश चलाउन सक्छ कि सक्दैन ?

एकथरीले तदर्थ विशेष अधिवेशनको कुरा उठाएका छन् । तर, विशेष महाधिवेशन भनेको एक र अर्को अधिवेशनको बीचमा खास राजनीतिक परिस्थितिमा गर्ने कुरा हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा निर्णय लिन गर्ने हो । २०१२ सालमा वीरगन्ज महाधिवेशनपछि बीपी कोइरालाले २०१४ मा विराटनगरमा त्यस्तो महाधिवेशन गरेका थिए । मलाई लाग्छ, नेताहरुले विशेष अधिवेशनको विशेषता र चरित्र नबुझेर त्यस्तो प्रस्ताव गरेका हुन् । महाधिवेशनको बीचमा गर्नुपर्ने विशेष अघिवेशन पाँच, छ वर्षपछि किन गर्ने ?

राजनीतिक पार्टी के यसरी चल्छ ? पक्कै चल्दैन । अब राजनीतिक विकल्प दिन शक्तिवान् समूह निस्कनुपर्यो । युवा नेताहरुले महाविधेशन कुरे, देउवाले सारे । उनी नेतृत्व गर्न सक्षम छैनन् । अब पनि महाधिवेशन गर्न तयार भएनन् भने कांग्रेसले सभापति र पदाधिकारीको मुख नहेरी राजनीतिक अधिवेशन आह्वान गर्नुपर्छ । क्रमभंगताबाट नयाँ ऊर्जा निस्कन्छ, नयाँ नेतृत्व निस्कन्छ । त्यसपछि नयाँ कांग्रेस नयाँ ढंगले जानका लागि तयार हुन्छ । त्यसो गर्न सकिँदैन भने कांग्रेसमा कि देउवाको कमान्ड कन्टोल छ भन्ने बुझ्नुपर्यो, कि विकल्प छैन भन्ने सम्झनुपर्यो ।

पार्टी र सरकार निर्माणको चुनौती त छँदै छ । देउवाले सचिवालयको निर्माण पनि गर्न सकेनन् । महिनादिन पुग्न लाग्दा राष्ट्रको नाममा सम्बोधन पनि आएको छैन । देउवाको एउटा आशालाग्दो, भरोसा लाग्दो सम्बोधन आएन । जस्तो कि ओलीलाई किन हटाउनुपर्यो ? जम्मा ६० जना सांसद भएको पार्टीको नेताले किन प्रधानमन्त्री हुनुपर्यो ? जनतालाई भविष्यतर्फ कसरी आश्वस्त बनाउने आदि इत्यादि ।

प्रधानमन्त्री पद फुलटाइम काम हो । देउवालाई ८० वर्षको हाराहारीको उमेरमा प्रधानमन्त्री र पार्टी सभापति चलाउन कठिन छ । तैपनि उनको तालुमा आलु फलेको फल्यै छ ।

त्यसो त कांग्रेसभित्र लोकतान्त्रिक पद्धति अपनाउने तर हार स्वीकार नगर्ने प्रवृत्ति छ । बार्गेनिङ गरी शक्ति केन्द्र बन्ने प्रवृत्ति छ । चुनाव हारिसकेपछि थान्कोमा बस्नुपर्छ । तर नेतृत्वसँग उदात्त हृदय पनि छैन ।

बीपीले राष्ट्रिय मेलमिलाप नीति लिएर आएपछि किसुनजीलाई कार्यवाहक सभापति बनाए । गणेशमान सिंहले बहुदलीय प्रजातन्त्र प्राप्तिपछि किसुनजीलाई प्र्रधानमन्त्री सुम्पिए । देउवाले पनि अब मलाई पुग्यो  भनेको भए हुन्थ्यो ।

सु्शील कोइरालाले संविधान जारी गरे । शान्ति प्रक्रियादेखि गणतन्त्रसम्म गिरिजाप्रसादले नेतृत्व गरे । बीपीले लोकतन्त्रको हावा चलाए, महान् काम गरे । देउवाले अग्रजको पदचिह्नमा गौरव गर्दै त्याग गरेको भए हुन्थ्यो । भारतमा अमित शाहले गृहमन्त्री छँदा पार्टी अध्यक्ष छाडे । देउवाका असल काम पनि छन्, गलत काम पनि छन् । तर, म महान् कसैलाई पनि मान्दिनँ । सबै व्यक्ति हुन् । बुद्ध होइनन् । गान्धीलाई मानिसहरु महान् मान्दैनन् ।

देउवासँग खासै जनअपेक्षा छैन, आशा भरोसा पनि छैन । ओलीको असफलता र पार्टी विभाजनले देउवाको तालुमा आलु फलेको हो । देशलाई थप बिग्रन नदिई सानोतिनो काम गरे पनि देउवाको हाईहाई हुनेवाला छ । ढिलोचाँडो खोप आउने भइहाल्यो ।

देउवाले एलाइन्सलाई चित्त बुझाउने गरी काम गर्छन्, प्रचण्ड र माधव नेपाल अनि आफ्नो गुटलाई चित्त बुझाइहाल्छन् । तर देउवाको न्यूनतम साझा कार्यक्रम बकवास हो । उपेन्द्रको राजनीतिक मुद्दा, प्रचण्डको शान्तिप्रक्रिया र देशले मागेको सुशासनका कुरा तीन बुँदामा राखेको भए हुन्थ्यो । मान्छेले यस्ता लम्बेतान वक्तव्य सुन्न र बुझ्न छाडिसके ।

भ्रष्टाचार नियन्त्रण पनि फाल्तु कुरा हो । भ्रष्टाचार भएन भने, काठमाडौंका प्राइभेट स्कूल, एनजीओ, आईएनजीओ केही चल्दैन । घरभाडा लाग्दैन । अरु त अरु भ्रष्टाचार भएन भने कांग्रेस र कम्युनिस्ट पार्टी चल्दैन ।

एमसीसी पास गर्ने आँट देउवासँग छैन । माधव नेपाल पक्षमा भीम रावलजस्ता व्यक्ति छन् । मलाई लाग्छ, नेपालमा क्याबिनेट नभए पनि निर्वाचन हुन्छ । त्यसका लागि शेरबहादुर चाहिँदैन, खिलराज पनि भए पुग्छ । निर्वाचन आफंै हुन्छ ।

ऋषि धमलासँगको कुराकानीमा आधारित

 



प्रतिक्रिया दिनुहोस्