Logo

ओलीले नेपाल, भट्टराई र यादवलाई जेल हाल्न खोजेका थिए



काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका अलावा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जेल हाल्न खोजेको खुलेको छ । उनले आज प्रतिनिधि सभामा यी नेताहरुको नाम नलिई कडा अभिव्यक्ति दिए ।

ओलीले गौर हत्याकाण्डको विषय उठाए । उक्त हत्याकाण्डको छानविन गर्न चुनौती दिए । ओली प्रधानमन्त्री हुँदा यो काण्डको फाइल खोलिएको थियो । उनले उपेन्द्र यादव मुछिएको घटनाको फाइल खोल्न लगाउनु अर्थपूर्ण थियो । आज फेरि उनले गौर हत्याकाण्डको छानविन गर्न सरकारलाई चुनौती दिए । १४ वर्ष अघि गौरमा २७ जनाको ज्यान जानेगरी भएको घटनामा उपेन्द्र यादवमाथि योजना बनाएको आरोप लाग्ने गरेको छ ।

बालुवाटार जग्गा प्रकरणबारे पनि ओलीले बोले । उनले ललितानिवास जग्गा प्रकरणबारे पनि छानविन गर्न भने । उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिएका छन् । उनीहरुमाथि छानविन नगरेको भन्दै अख्तियारविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको छ । मन्त्रिपरिषद्ले ललिता निवास जग्गासम्बन्धी नीतिगत निर्णयहरु गरेको विषय छ । ती निर्णयहरु माधव नेपाल र डा. भट्टराई प्रधानमन्त्री भएका बखत गरिएका थिए ।

यसैगरी, बालुवाटार जग्गा प्रकरणबारे विजयकुमार गच्छेदारसँग विशेष अदालतले बयान लिएको छ । गत साता लिएको बयानमा गच्छेदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले निर्देशन दिएबमोजिम मन्त्रिपरिषद्मा फाइल लगेको जवाफ दिएको बुझिएको छ । उनीमाथि अख्तियारले मुद्दा समेत दायर गरेको छ ।

माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई विभिन्न काण्डमा मुछेर ओलीले जेल हाल्न खोजेको चर्चा चलेको थियो । आज प्रतिनिधि सभामा उनले त्यसलाई पुष्टि हुने आधार मिल्ने गरी बोलेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवातर्फ हेर्दै बालुवाटार जग्गा प्रकरण, गौर हत्याकाण्डका अलावा मान्छे मारिएका अरु काण्डहरुको छानविन गर्न भने ।



प्रतिक्रिया दिनुहोस्