Logo

एमसीसी बन्यो राजनीतिक अस्त्र, पारित होला ?



काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीबारे प्रश्न गरे । उनले सोधे- एमसीसीबारे के गर्नुहुन्छ ।

अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई ओलीले राजनीतिक अस्त्रका रुपमा लिन थालेका छन् । एमसीसी उनको पालामा पारित गर्न खोजेपनि सफल भएनन् । प्रतिनिधि सभामा एमसीसीलाई निर्णयार्थ सभामुख अग्निप्रसाद सापकोटाले बढाएनन् । यसले ओली रुष्ट भएका थिए ।

सत्ता बाहिर पुगेपछि ओलीले एमसीसी संशोधनसहित पारित गर्नुपर्ने बताएका छन् । यसले राजनीतिकवृत्तमा तरंग आएको छ । उनी विगतमा एमसीसी पारित गर्न चाहन्थे कि थिएनन् ? प्रश्न समेत उठेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । तर, सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र संशोधनसहित पारित गर्नुपर्ने पक्षमा छ । जनमोर्चा नेपाल एमसीसीको विरोधमा छ । एमसीसीकै कारण गठबन्धनमा समस्या आउने सम्भावना पनि छ । त्यसैले ओलीले एमसीसीबारे के गर्नुहुन्छ ? भनी देउवालाई प्रश्न गरेका हुन् ।

एमसीसीकै विषयमा दलहरुभित्र ध्रुवीकरण भइरहेको छ । नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु यो मुद्दामा विभाजित छन् । यसकारण पनि एमसीसी फेरि राजनीतिक अस्त्र बनेको छ ।

एमसीसी पारित हुन गठबन्धनभित्र एकमत हुनुपर्छ । तर, त्यो सजिलो छैन । नेकपा एमालेको ओली समूहले साथ दिएमा एमसीसी सजिलै पारित हुन्छ । तर, ओली एमसीसीबारे यु टर्न भएका छन् । उनी एमसीसी पारित गर्ने पक्षमा नदेखिएको संकेत आइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्