काठमाडौँ, २७ साउन । सरकारको लगानीमा पहिलोपटक ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्कोमा निर्माणको प्रक्रिया अघि बढेको हो ।
आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । बालकुमारीतर्फबाट आएका सवारी साधन चार लेन उठेर ग्वार्कोतिर लाग्ने र अर्को चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रका प्रमुख डा विजय जैसीले बताए । ‘फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ । उनले भने, “माथि चढ्न र झर्नका लागि ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ ।”
सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो । केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको केन्द्रका निर्देशक डा जैसीले बताए । परार्मशदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्कोमा निर्माण अघि बढाइएको उनले बताए । ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्को छानिएको उनको भनाइ छ । उनले भने, “फ्लाइओभर अहिले नेपालका लागि नौलो हो ।”
विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारी साधन नरोकिने अवधारणा बनाएको छ । विमानस्थल झरेर कलङ्की पुग्दा कतै पनि नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले जनाएको छ ।
‘फ्लाइओभर’ बिएण्डबी अस्पताल नजिकै ग्वार्कोबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारी साधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ सवारी साधन चल्न सक्ने निर्देशक डा जैसीले बताए । उनले भने, “दुवैतर्फ सवारी साधन नरोकिई चल्न सक्नेछन् ।”
उपत्यकामा ‘फ्लाइओभर’ निर्माणका लागि अर्थ मन्त्रालयले चालु आवमा रु ३४ करोड बजेट सुनिश्चित गरेको छ । ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् त्यसैका आधारमा यसको बजेट यकिन हुने उनले बताए ।रासस