Logo

पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता



पोखरा, २७ साउन । पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ ।

पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि विशेष रोजाइमा प¥यो । सायद महिनौँदेखि घरमै थुनिएर बस्नु परेका नेपालीहरु बन्दाबन्दी खकुलो भएसँगै राम्रोसँग रमाउन चाहेर पनि हुनसक्छ, पोखरा आएका धेरैले प्लाराग्लाइडिङ नै रोजेका थिए ।

पोखराको पर्यटनलाई चलायमान बनाउन पनि यसले निकै सहयोग पु¥यायो । कम्पनीले ५० देखि ६० प्रतिशत छुटसहित दैनिक पाँच सयदेखि सात सय उडानले पोखराको आकाशलाई रङ्गीन बनाएको थियो भने आन्तरिक पर्यटक बढ्दा व्यवसायीमा पनि बन्दपछिको अवस्थामा केही आशा पलाएको थियो ।

यतिबेला पोखराको पर्यटन फेरि कोरोना भाइरसको नयाँ प्रजातिका कारण क्षेत्र ठप्प छ । पर्यटन व्यवसायीहरु सहज खोप र पर्यटनमैत्री नीति ल्याएर यस क्षेत्रका व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् । यसैबीच पोखराको क्षेत्रीय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा यस क्षेत्रका प्याराग्लाइडिङ व्यवसायीहरु व्यवसायको भविष्य खोज्दै निरन्तरताको खोजीमा जुटेका छन् ।

सन् २०१७ मा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रारम्भ भएदेखि नै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान निरन्तरता हुन सक्छ कि सक्दैन भन्ने विषयले चर्चा पाएको थियो । अहिले विमानस्थलको काम करिब ८२ प्रतिशत सम्पन्न भइसकेको छ । निकट भविष्यमै सञ्चालनमा आउन लागेको विमानस्थलका कारण वर्षौंदेखि सञ्चालन भइरहेको प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने अवस्था आउने त होइन भन्ने चिन्ता यतिबेला व्यवसायीमा देखिएको छ ।

यसैबीच हवाई खेलकुद संस्था (ना) को टोलीले केही दिनअघि विमानस्थलको अवलोकन गरेर व्यवस्थापनसमक्ष प्याराग्लाइडिङ व्यवसायीका संस्थागत धारणाहरु राखेको छ । संस्थाका अध्यक्ष कृष्ण भण्डारीले पोखराको साहसी खेलका रुपमा ब्रान्डिङ भएको प्याराग्लाइडिङलाई उच्चतम प्रविधि र व्यवस्थापनमा जोड दिएर सोही स्थानबाट निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही प्राविधिक कुराहरु देखाइएको छ तर उच्च प्रविधिको प्रयोगसँगै व्यवस्थापन गर्न सक्यो भने उडान असम्भव छैन, सिङ्गापुरमा प्रत्येक सेकेन्डमा हवाई उडान सम्भव छ भने यहाँ यी कुराहरु व्यवस्थापन गर्न असम्भव छैन ।

” उनले नेपालकै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलमध्ये एक नम्बरमा रहे पनि कुशल व्यवस्थापनका कारण सुरक्षाको प्रत्याभूतका साथ सञ्चालन भइरहेको उदाहरण दिनुभयो । “नागरिक उड्डयन प्राधिकरणले पनि कुशल व्यवस्थपनमा जोड दिन सके विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्दैन”, भण्डारीले भने ।

विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा अब हुने ‘अपरेशन प्रोस्युडियर डिजाइन’मा प्याराग्लाइडिङलाई पनि सोही स्थानमा सञ्चालन गर्न सक्ने गरी योजना बनाउन व्यवस्थापनसमक्ष माग गरेको बताए ।

पोखरा र आसपास क्षेत्रमा सर्वप्रथम सन् १९९७ देखि अल्ट्रालाइट विमानबाट तथा सन् २००१ देखि यन्त्ररहित प्याराग्लाइडरबाट सेवा सञ्चालन भएको थियो । त्यसयता ७९ वटा कम्पनी सञ्चालनमा आएका छन् । प्याराग्लाइडिङ कम्पनी ७०, प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र हटएयर बेलुन कम्पनी एकवटा सञ्चालनमा छन् । संस्थाका उपाध्यक्ष अनिल केसीका अनुसार हाल प्याराग्लाइडिङका ६० वटा कम्पनी सञ्चालनमा रहेका छन् । करिब रु एक अर्बको लगानी रहेको यस क्षेत्रमा पोखरामा मात्रै तीन सय ४२ जना नेपाली प्यारापाइलटले व्यावसायिक उडान भरिरहेका छन् । विदेशी प्यारापाइलट करिब १५ जना रहेका छन् । प्याराग्लाइडिङ क्षेत्रमा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको केसीको भनाइ छ ।

विगत केही वर्षयता दिनानुदिन बढ्दै गइरहेको साहसिक, मनोरञ्जनात्मक उड्डयन क्रियाकलापहरुको बढोत्तरीले गर्दा यस क्षेत्रको सञ्चालन र व्यवस्थापनमा थप नयाँ समस्या र चुनौतीहरु थपिँदै गइरहेको संस्थाका सल्लाहकार शैलेन्द्र राउतले बताए । उनका अनुसार उडान नियमावलीको व्यवस्था र अन्तर्राष्ट्रिय प्रचलनसमेतका आधारमा प्याराग्लाइडिङको नियमन र व्यवस्थापनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गण्डकी प्रदेशभित्र सञ्चालन हुने प्याराग्लाइडिङ सेवाको प्रभावकारी नियमन र सञ्चालन गर्न÷गराउनका लागि हाल नेपाल हवाई खेलकुद संस्था (ना) पोखरालाई प्राधिकारिक संस्था तोकी सोही संस्थामार्फत तोकिएका कार्यहरु सम्पादन हुँदै आएको छ ।

सन् २०१७ को नोभेम्बरदेखि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई १० मा निर्माण सक्नुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सीमाभन्दा छ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि कोरोनाका कारण विमानस्थलको एक वर्ष थप गरेर १० जुलाई २०२२ सम्म धकेलिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्