Logo

तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस



काठमाडौं, साउन २८ । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ ।

प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य ११ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका प्रहरी नायब निरीक्षक जनक थापा, परिचर सुरेश बम र हबल्दार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ । हबल्दार शाहले यूएन शाखाबाट प्रश्नपत्र झिकेर भाइबरमार्फत आउट गरेको पुष्टि भइसकेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको संयोजकत्वमा गठित समितिले छानबिन सकेर ५ सय ५० पृष्ठ लामो प्रतिवेदन प्रहरी महानिरीक्षक थापालाई बुझाएको हो ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले छानबिन समितिले प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन बुझाएको र प्रतिवेदन अध्ययनपछि समितिले गरेका सिफारिसका आधारमा थप निर्णय हुने जानकारी दिए ।

प्रश्नपत्र लिक भएपछि गठित छानबिन समितिले तीन दर्जन प्रहरी कर्मचारीलाई छानबिनको दायरामा तानेर सोधपुछ गरेको थियो । सो क्रममा उनीहरूले चलाएका मोबाइल र त्यसबाट भएका कुराकानी, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जाललगायतलाई प्रविधिको प्रयोग गरेर अनुसन्धान गरिएको थियो ।

सो क्रममा संलग्नता पुष्टि भएपछि समितिले दुई एसपीसहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । कारबाहीमा पर्नेमा यूएन शाखाका प्रमुख रहेका एसपी अनुपमशमशेर जबरासमेत छन् । यूएन शाखामा रहेको प्रश्न उनीसँगै चाबी भएको दराजमा थियो । तर, उनी घर भएको समयमा प्रश्न चोरी भएको थियो ।

यसैगरी, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट र प्रहरी निरीक्षक ईश्वरी भण्डारीसमेत विभागीय कारबाहीका लागि सिफारिसमा परेका छन् । उनीहरूलाई सामान्य कारबाही सिफारिस गरिएको छ । उनीहरूले प्रश्नको सुरक्षा गर्न नसकेको र लापर्बाही भएको पाइएको प्रतिवेदनमा भनिएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot