Logo

झन्डै २९ लाखले लगाए कोरोनाविरुद्ध पूर्णखोप



काठमाडौं, साउन २८। हालसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४ सय ३ जनाले भेरोसिल खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै, ५ लाख ९७ हजार ८ सय १९ जनाले कोभिसिल्ड र १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सन एन्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् ।

नेपालमा हाल कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप उपयोगमा आएको छ । अहिलेसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १७ लाख ५६ हजार ७ सय ६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म २१ दशमलव १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलव २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका हुन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई खोप उपलब्ध गराउने निर्णय गरेको छ । परीक्षा भइरहेका विश्वविद्यालयका विद्यार्थीले प्रवेशपत्रको आधारमा खोप लगाउन पाउने भएका हुन् । यसअघि २५ साउनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी युनियन र अखिल छैठौंले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरूलाई खोप दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा तारानाथ पोखरेलले विद्यार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोपको पहिलो मात्रा उपलब्ध गराउन सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरिएको बताए । आजको राजधानी दैनिकमा प्रशान्त वलीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्