Logo

एअर अरेबियाद्वारा विमानस्थलमै परीक्षण सुविधाः नेपाली वायुसेवा सरकारको मुख ताक्दै



काठमाडौं, साउन २८ । साउदी अरेबियाको वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै तजबिजमा नेपालको निजी अस्पतालसँगको सहकार्यमा विमानस्थलमै र्‍यापिड टेस्टको व्यवस्था गरेर दुबई उडान सुरु गरेको छ। संयुक्त राज्य इमिरेट्स (युएई) ले यही अगस्ट ७ देखि बोर्डिड पास लिनुअघि सबै यात्रुले विमानस्थलमा कोरोनाको र्‍यापिड टेस्ट गर्नुपर्ने नियम लागू गरेको थियो।

नेपालको एक मात्र अन्तर्राष्टिय हवाई अड्डा त्रिभुवन विमानस्थलमा यस्तो टेस्टको व्यवस्था नहुँदा सोमबार बेलुकी डेढ सय यात्रु दुबई जान रोकिएका थिए। एअर अरेबियाले निजी अस्पतालसँग सहकार्य गरेर र्‍यापिड टेस्टको व्यवस्था गरेपछि बिहीबारदेखि यात्रु उडाउने तयारी गरेको छ। तर नेपालबाट युएईमा उडान भर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले कुनै व्यवस्था गर्न सकेका छैनन्। एअर अरेबियाले नेपालबाट युएई अन्तर्गतको एउटा सहर सारजहाँ र राजधानी आबुधावी उडान भर्दै आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीका अनुसार एअर अरेबियाले आफ्नै तजबिजमा विमानस्थलमै र्‍यापिड टेस्टको व्यवस्था गरेको हो। उक्त सेक्टरमा उड्ने अन्य विमान कम्पनीको हकमा भने कति मेसिन चाहिन्छ, कति लगानी लाग्छ, जनशक्ति लगायत विषयमा प्रक्रियागत रूपमा छलफल भइरहेको उनको भनाइ छ। पिसिआर परीक्षण जस्तै जुनसुकै सरकारी अस्पतालमा परिक्षण गर्दा नहुने भएकाले विमानस्थलमै कति संख्यामा मेसिन सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे छलफल अघि बढेको उनले बताए।

दुबई जाने यात्रु उडाउन नसकेका दुई कम्पनीमध्ये एक नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले विमानस्थल, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँग यस विषयमा छलफल भएको र चाँडै समस्याको समाधान खोजिने बताए। आजै (बुधबार) राति १०ः२० को उडानबाटै यात्रु उडाउने प्रयास भइरहेको समेत उनले जानकारी दिए।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय लगायत निकायले विमानस्थलमा र्‍यापिड टेस्टको सुविधा ल्याएपछि मात्रै हिमालयले सेवा सुरु गर्ने जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयबाट स्वीकृत प्राप्त संस्थाले अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट जारी गरेको परीक्षण रिपोर्ट खोेजेकाले सम्बन्धित निकायसँग सहकार्य भइरहेको छ,’ उनले भने, ‘हिमालयले उडान भर्ने १ सय ८० सिट क्षमताको विमानलाई पुग्ने गरी व्यवस्था भए मात्र उडान हुनेछ।विमान कम्पनीले यात्रु उडाउन नपाउनु आफैंमा समस्या भएको भन्दै उनले आर्थिक समस्या भोग्दै आएको विमानलाई एकोहोरो उडानमा अझै समस्या थपिएको गुनासो गरे। उनले चाँडै समस्याको समाधान हुने विश्वास पनि व्यक्त गरे।

एअर अरेबियाले टेस्टको व्यवस्था गरेपछि वैदेशिक रोजगारीबाट बिदामा आएका नेपाली कामदार काममा फर्किने बाटो खुलेको छ।र्‍यापिड टेस्टको व्यवस्था नहुँदा गत सोमबार दुईवटा वायुसेवा कम्पनीका एक सय ५० यात्रु मध्यरातमा विमानस्थलबाट फर्किन बाध्य भएका थिए।

एअर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीलेले सोमबारदेखि लागू हुने गरी आफ्नो मुलुक प्रवेश गर्ने नेपालीले ४८ घन्टाभित्र गरेको कोरोना भाइरसको पिसिआर नेगेटिभ र विमान चढ्नुअघिको चार घन्टाभित्र विमानस्थलमै गरिएको र्‍यापिड टेस्टको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरेको छ। यसको अभावमा वायुसेवा कम्पनीहरू उड्न भनेर आएका यात्रुलाई मध्यरातमा फर्काउन बाध्य भएका थिए। यात्रु उडाउन नपाएपछि सोमबार राति हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगमका जहाज रित्तै उताका यात्रु लिन दुबई गएका थिए। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot