Logo

प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा गुरुङ



कास्की, २८ साउन: गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहेका ध्वजकुमार गुरुङ नियुक्त भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए ।

स्याङजाको वालिङ नगरपालिका– १२ सिर्सेकोट कोखे घर भई उनी हाल पोखरा–१० मा बसोबास गर्दै आएका छन् । यसअघि उपाध्यक्षमा नियुक्त नारायण पुन परिषद्को बैठकमा उपस्थित नभएका कारण गत साउन १३ गते ७ दिने सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको र स्पष्टीकरणको जवाफ नआएकाले उनलाई पदमुक्त गरी रिक्त पदमा गुरुङलाई नियुक्त गरिएको छ ।

नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्यसमेत रहेका गुरुङ पश्चिमाञ्चलको ह्याण्डबल टोलीको कप्तानीसमेत सम्हालेका थिए। उनका कप्तानीमा पाँचौं राष्ट्रिय खेलकूदमा पश्चिमाञ्चलले पुरुषतर्फ स्वर्ण पदक जितेको थियो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले नवलपुरको मुकुन्दपुर–आहाले–रतनपुर–कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गर्दै वन क्षेत्रको चार दशमलव छ हेक्टर जग्गा प्राप्ति तथा रुख कटानका लागि सङ्घ सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४४४ जनाको दरबन्दी असार मसान्तमा सकिएकामा यही साउन १ देखि असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको मन्त्री खड्काले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot