बुटवल, २८ साउन । लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी नेतृत्वको सरकार बन्ने निश्चित भएको छ । ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले नेकपा माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता केसीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गरेपछि उनको सत्तारोहरण निश्चित भएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै केसीले मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरेका छन् । उनले नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा नेपाल र एमालेको माधवकुमार नेपाल पक्षलाई समेटेर मन्त्रिमण्डल गठन गर्ने भएका छन् ।
माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय, काँग्रेसले आन्तरिक मामलासहित ४, जनता समाजवादी पार्टीले ३ मन्त्रालय पाउने सहमति भएको छ ।
नेपाली काँग्रेसबाट निर्मला क्षेत्री, वीरबहादुर राना, डिल्लीबहादुर चौधरी र रमा अर्याल मन्त्रीका मुख्य दाबेदार छन् । माओवादीबाट दामा शर्मा, इन्द्रजित चौधरी, कृष्णध्वज खड्का र सुदर्शन बरालको सम्भावना बलियो छ ।
जसपाबाट सहसराम यादव, सुमत शर्मा रायमाझी र पुमति ढेंगा मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रमा प्रवेश गरेकी बिमला वली खत्री पनि मन्त्री बन्ने सम्भावना रहेको बुझिएको छ ।