Logo

अर्थमन्त्री शर्माको वक्तव्यमाथि सांसदका जिज्ञासा



काठमाडौँ, २८ साउन: अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् ।

सांसद डा. खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उनलाई ऋणबिना नै अघि बढ्न लागिएको हो भनी प्रश्न गरे । नेपाली कांग्रेसका प्रकाश पन्थले अपाङ्गता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड दिए ।

सांसद प्रमिला देवीले पछाडि परेका नागरिकका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड दिईन् । सांसद उदया शर्मा पौडेलले गरीखाने वर्गले खोप पाउनुपर्ने बताईन् । सांसद रामनारायण बिडारीले कृषिमा वैदेशिक लगानी भित्र्याउने कि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने भनी सरकार प्रष्ट हुनुपर्ने बताए । सांसद ठगेन्द्र प्रकाश पुरीले अध्यादेश बजेट प्रतिस्थापन विधेयक कहिले आउँछ भनी प्रश्न गर्दै त्यसमा राप्ती लोकमार्गले प्राथकिता पाउनुपर्नेमा जोड दिए ।

सांसद देवेन्द्र दाहालले प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले ल्याएको बजेटभन्दा नयाँ बजेट ल्याउन लागेको कि त्यही बजेटको आकार मात्रै बढाउन लागिएको हो भनी प्रश्न गरे । नेकपा (एमाले)की तुलसाकुमारी दाहालले पहिलोपटक कोरोनाको परीक्षण हङकङमा पठाइएकामा अहिले परीक्षण र उपचारमा नेपाल धेरै अघि बढिसकेको बताए ।

सांसद भैरवसुन्दर श्रेष्ठ श्वेतपत्रमा यो सरकार पाँच दलीय गठबन्धन भन्ने उल्लेख भएको भन्दै ती दल कुन–कुन हुन भनी प्रश्न गरे । नेपाली कांग्रेसकी अनिता देवकोटाले यसअघिको सरकारले अध्ययन नै नगरी भर्चुअल उद्घाटन भएका सडकको अवस्थाका बारेमा जिज्ञासा राखे । नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले माओवादी केन्द्र पटक–पटक सरकारमा संलग्न भएकाले विगतमा भएका कमजोरीको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिए ।

सांसद डा विमला राई पौडेलले चार महिना बढी भारतले गरेको नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर गरेको उल्लेख गर्दै गत आवमा कोभिड सङ्क्रमणका कारण राजश्व कम र खर्च बढ्दा सञ्चिती घटेको उल्लेख गरीन् । सांसद कोमल वलीले कोभिडको प्रभाव कृषि, उद्योग, पर्यटनमा कति प¥यो र त्यसविरुद्ध लड्न सरकारको तयारी के छ भन्ने विषयमा अर्थमन्त्री शर्मासँग जानकारी मागिन् ।

सांसद विमला घिमिरेले सामाजिक सुरक्षा कार्यक्रममा के कुरा दोहोरिएको छ भनी प्रश्न गर्दै अघिल्लो सरकारले स्वास्थ्यमा छुट्याएको बजेटले निरन्तरता पाउँछ या पाउँदैन भनी जिज्ञासा राखिन् ।-रासस



प्रतिक्रिया दिनुहोस्