बुटवल, २८ साउन । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी कुनैबेला शिक्षक थिए । रोल्पाको लिवाङस्थित बाल कल्याण माविमा प्राथमिक विद्यालयका स्थायी शिक्षक भएका उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई २०५० सालमा कालो झन्डा देखाए । त्यही घटनाले उनको जीवनलाई नयाँ मोडमा लग्यो । प्राथमिक तहका शिक्षक राजनीतिका पूर्णकालीन भए ।
स्थायी शिक्षकले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएर विरोध गरेपछि उनीमाथि दबाब पर्यो । त्यसपछि शिक्षकबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिए । उनी तत्कालीन जनमोर्चाको सक्रिय सदस्य भई भूमिगत राजनीतिमा लागे ।
२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले जनयुद्धको घोषणा गरेपछि उनी त्यतै लागे । कलम समाउँदै आएको हातले बन्दुक बोक्यो । एउटा शिक्षक लडाकु बने ।
राजनीतिमा पूर्णकालीन सदस्य बनेका केसी २०५५ सालमा दाङ, प्युठान र सल्यानको सेक्रेटरी भए । २०५६ सालमा भेरी, कर्णाली सैन्य कमिसार र २०५७ सालमा माओवादीको केन्द्रीय सदस्य निर्वाचित भए ।
कुलप्रसाद केसी अर्थात् सोनाम भारत जाने क्रममा २०६० साल जेठ २० गत पक्राऊ परेका थिए । उनी ३ वर्ष भारतको बक्सर जेलमा परे । शान्ति प्रक्रियामा उनी रिहा भएका थिए । काभ्रेको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार बनाइए । पछि जनमुक्ति सेना छाडेर राजनीतितर्फ आए । उनले वाइसिएलको इन्चार्जको भूमिका पाए ।
केसी केही समय मोहन वैद्य किरणतिर लागे । दोस्रो संविधान सभाको चुनावमा केसी भाग लिएनन् । उनी वैद्यतिर लागेर बहिष्कारमा सहभागी भए । रामबहादुर थापा बादल माओवादीमा फर्कंदा केसी पनि फर्किएका थिए । उनी रोल्पा क्षेत्र नं २ कबाट निर्वाचित भए ।
शंकर पोखरेल नेतृत्वको सरकारमा केसी आन्तरिक मामलमन्त्री भए । माओवादी ब्युँतिएपछि उनी प्रचण्डतिरै लागे । बादल एमालेमा लागे । तर, केसी प्रचण्डको साथमा रहे । त्यसपछि बनेको काँग्रेस, माओवादी, जसपाको गठबन्धनमा उनी मुख्यमन्त्रीको प्रस्तावित भए । केसीले लामो राजनीतिक यात्रा र संघर्षका क्रममा मुख्यमन्त्री सम्मको यात्रा तय गरे ।