काठमाडौं, २८ साउन । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्तिस्थापनार्थ जाने मिसनमा छान्न लिएको पूर्वपरीक्षा रद्द गरेको छ । हिजो निर्णय गरी प्रहरी प्रधान कार्यालयले आज मातहतका कार्यालयलाई पूर्वपरीक्षा रद्द भएको जानकारी पत्र पठाएको हो ।
प्रहरीको युएन मिसनमा पठाउनुअघि लिएको पूर्वपरीक्षा १५ र १६ गते प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयहरुमा सञ्चालन भएको थियो । तर, परीक्षाका प्रश्नपत्रहरु परीक्षा अगावै बाहिरिएको थियो । प्रहरीले छानविन गरी मातहतका प्रहरी अधिकृत देखि अन्यलाई कारबाही समेत गरिसकेको छ ।
प्रहरी प्रधान कार्यालयले पुनः परीक्षा संचालनको मिति भने तोकेको छैन । यसको जानकारी पछि गरिने उल्लेख छ ।
युएन प्री एमएस परीक्षा भनिने यसमा उत्तीर्ण परीक्षार्थी अन्य परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । प्रहरीमा युएन मिसन आकर्षणको क्षेत्र हो ।