Logo

‘दैनिक २ लाख खोप लगाइँदै’



काठमाडौं, साउन २९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप अभियानलाई तीव्रता दिँदै सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको विहिवार बसेको बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गर्दै सांसदहरूले सबै नेपालीलाई खोपको सुनिश्चितता गर्न गरेको मागको प्रतिउत्तरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

उनले नेपालका लागि कुल ५ करोड ५० लाख मात्रा खोपको आवश्यकता पर्ने धारणा राख्दै अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख मात्रा खोप जनतालाई उपलब्ध गराइएको र नयाँ सरकार आएपछि बुधबारसम्ममा ७५ लाख मात्रा खोप लगाइएको जानकारी दिए । उनले कोरोनाको संक्रमण बढेको १६ जिल्लामा सरकारले खोपको विशेष व्यवस्था गर्ने जानकारी दिँदै निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखीभन्दा पनि सेवामुखी बनाउनेमा सरकार केन्द्रित हुने बताए ।

बैठकमा सांसदहरूले सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिता दिए पनि सबै नेपालीलाई पुग्ने गरी खोप ल्याउन नसकेको भन्दै तत्काल पर्याप्त खोप ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गर्न सरकार असफल भएको टिप्पणी गर्दै खोप वितरणलाई सहज बनाउन पनि आग्रह गरेका थिए । नेपाल समारचपत्र दैनिकमा मधुसूदन रायमाझीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot