काठमाडौं, साउन २९ । सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो।
साउदी अरेबियन वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा डाइग्नोस्टिक प्रालिसँग मिलेर त्रिभुवन विमानस्थलनजिकै कोरोनाको र्यापिड पिसिआर परीक्षणको व्यवस्था मिलाएर बिहीबारदेखि यात्रु लैजान थालेको हो। उक्त कम्पनीको उडान नम्बर जी९५३८ को जहाज बिहीबार राति ८ बजे एक सय ६७ नेपाली बोकेर सारजहाँ गएको छ।
स्वास्थ्य मन्त्रालयबाट स्वीकृत अल्फा डाइग्नोस्टिकले विमानस्थलनजिकै ल्याब सञ्चालन गरी र्यापिड परीक्षण रिपोर्ट दिन थालेको छ। यसअघि एअर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीलेले विमानस्थल परिसरमै गरिएको र्यापिड टेस्टलाई मात्र मान्यता दिने भन्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको परीक्षण रिपोर्टलाई मान्यता दिएको थिएन ।
विमानस्थल स्रोतका अनुसार गौशालास्थित पशुपति भिजन टावरमा ल्याब सञ्चालनमा ल्याएको अल्फाले २१ सय रूपैयाँ लिएर परीक्षण गरिरहेको छ। सारजहाँमा एअर अरेबियाको बेस भएकाले युएईले एअर अरेबियालाई विशेष उडान अनुमति दिएको विमानस्थल कार्यालयले जनाएको छ। तर नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स र फ्लाई दुबईले भने अझै यात्रु बोक्न पाएका छैनन्। एअर अरेबियाले नेपालबाट सारजहाँ र अबुधाबी उडान भर्दै आएको छ।
स्रोतका अनुसार नेपाली विमान कम्पनीलाई उडान अनुमति दिए अन्य देशले समेत अनुमति माग्ने भएकाले हिमालय र निगमले अनुमति नपाएका हुन्। युएईको सिभिल एभिएसन अथोरिटीले परीक्षणको विधि परिवर्तन गरेको चार दिन बितिसक्दा समेत सम्बन्धित निकाय के गर्ने र के नगर्ने भन्ने अलमलमै रहेको बुझिएको छ। नागरिक दैनिकबाट