Logo

एमसीसीबारे माओवादीमा मतभेद



काठमाडौं, २९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे पछिल्लो समय मौन छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पारित गर्ने प्रक्रिया बढाउन खोज्दा प्रचण्डले विरोध गरेका थिए । उनले केही बुँदामा आपत्ती जनाउँदै संशोधनविना पारित गर्न नहुने अडान राखेका थिए ।

प्रचण्डनिकट सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई प्रतिनिधि सभाको अधिवेशनमा निर्णयार्थ प्रस्तुत गर्न बढाएनन् । त्यसप्रति रुष्ट हुँदै ओलीले सापकोटाको आलोचना गरेका थिए । ओलीले यसै हप्ता संसदमा बोल्दै एमसीसीबारे के गर्ने प्रष्ट पार्न सरकारलाई चुनौती दिइसकेका छन् ।

एमसीसी संसदबाट पारित गराउने देउवाको तयारी छ । त्यसमा सभामुख सापकोटा पनि लचिलो देखिएका छन् । उनले हालै आफ्नो कार्यकक्षमा पत्रकार भेटघाट गर्दै एमसीसीबारे सहमतिमा जोड दिए । उनले भरसक राष्ट्रिय सहमति, नभए संसदमा भएका दलहरुबीच सहमति र त्यसो पनि नभए सरकारमा रहेका गठबन्धन दलहरुबीच सहमति हुनुपर्ने बताइसकेका छन् । उनले एमसीसीलाई संसदमा अगाडि बढाउने संकेत पनि गरेका छन् ।

गठबन्धनभित्र एमसीसीबारे मतभेद छ । नेपाली काँग्रेस पारित गराउने पक्षमा छ । जनता समाजवादी पार्टी पक्षमा देखिएको छ । नेकपा माओवादी केन्द्रभित्र यसबारे विवाद छ । जनमोर्चा नेपाल एमसीसीको विपक्षमा छ ।

माओवादीभित्र प्रचण्ड एमसीसीबारे लचिलो बनेको बुझिएको छ । तर, नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेललगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् । विशेषगरी पूर्व जनमोर्चाबाट माओवादीमा गएका नेताहरु विपक्षमा खुलेका छन् ।

प्रचण्डले एमसीसीप्रति लचकता देखाएपछि माओवादीभित्र तरंग आएको छ । कतिपयले उनी बदलिएको आशंका पनि गरेका छन् । तर, सरकारको नीति तथा कार्यक्रममा एमसीसी नराखिएपछि प्रचण्डलाई सजिलो भएको छ । यसकारण पनि उनले पार्टीभित्र चर्को विरोधको सामना गर्नुपरेन ।



प्रतिक्रिया दिनुहोस्