Logo

स्याफ्रुबेँसीमा पहिराले चार घर क्षति



रसुवा, २९ साउन: स्याफ्रुबेँसीस्थित पुरानो गाउँबस्तीमा आज बिहान घर माथिबाट आएको पहिराका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५ः३० बजे आएको पहिराका कारण दुई स्थानीय बासिन्दा घाइते हुनाका साथै चार घर पूर्णरूपले क्षति भएका हुन् । जिल्लाको पहिलो सदरमुकामसमेत रहेको स्याफ्रुबेँसीस्थित पुरानो बस्तीमा पहिराको जोखिम बढेपछि त्यस क्षेत्रमा बसोबास गर्ने २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

विस्थापितलाई अन्यत्र सार्न गोसाइँकुण्ड गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरीलगायत सुरक्षा निकाय एवं जनप्रतिनिधि जुटिरहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

पहिराका कारण घाइते हुनेमा सोनाम दोर्जे तामाङ र शुकदोर्जे तामाङ छन् । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमाथिबाट आएको पहिराले स्थानीयवासी कामी तामाङ, राजुलामा, कर्पु लामा र सन्तोष तामाङको घर पूर्णरूपमा क्षति भएको छ । क्षतिको तथाङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

पहिराले घर बस्ती क्षेत्र जोखिममा परेका र घर पूर्णरूपमा क्षति भई विस्थापित भएका २४ घरपरिवारलाई बसोबास र भोजनको व्यवस्थापन गाउँपालिकाका तर्फबाट गरिने जनाउँदै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले व्यवस्थापकीय कार्यमा आवश्यक जनशक्ति परिचालन गराई पूर्वतयारी भइरहेको र साँझसम्म विस्थापितलाई आवश्यकपर्ने सम्पूर्ण आधारभूत व्यवस्थापन भइसक्ने बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्