Logo

देउवाले महाधिवेशन र मन्त्रीमण्डल विस्तार नगर्नुको रहस्य



काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता चलाएको एक महिनामा पनि मन्त्रिमण्डल विस्तार गरेका छैनन् । सत्ता गठबन्धनका सांसदहरु मन्त्री बन्नका लागि बालुवाटार र आफ्नो दलका नेताहरुको घरमा दौडधूप चलाइरहेपनि देउवा अझै तयार छैनन् ।

देउवाले मन्त्रिमण्डल विस्तार नगर्नुमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष नै मुख्य कारण हो । नेपाल पक्ष सरकारमा आउन तयार भइसकेको छैन । देउवा बरु समय लागोस् माधव नेपालले एमाले विवाद वार कि पार लगाएपछि मन्त्रिमण्डल विस्तारको पक्षमा छन् । अहिले नै मन्त्रिमण्डल विस्तार गर्दा माधव नेपाल पक्षलाई नोक्शान पर्न सक्छ ।

मन्त्री बन्नकै लागि केपी शर्मा ओली खेमा छाडेर नेपाल खेमामा गएकाहरु छन् । उनीहरु मन्त्रिमण्डल विस्तारमा परेनन् भने नेपाललाई धक्का लाग्न सक्छ । अर्कोतर्फ, मन्त्री बनाउने गरी नेपालले थप सांसदहरु आफ्नो पक्षमा पार्न सक्छन् । मन्त्रिमण्डल विस्तार पर सार्दा पदकै लागि माधव नेपाललाई साथ दिन तयार हुनेहरु थपिन सक्छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि समस्यामा छन् । मन्त्री बन्नका लागि कतिपय सांसदले गुट परिवर्तन गरे । ३२ सांसदमध्ये यादव पक्षमा २० भन्दा बढी सांसद छन् । मन्त्री बन्न नपाएमा कतिपयले गुट परिवर्तन गर्न सक्छन् । त्यसैले उपेन्द्र यादवलाई अप्ठ्यारो नपार्नका लागि पनि देउवाले अलमल गरिरहेका छन् । मन्त्रिमण्डल विस्तार ढिलाई हुँदा माधव नेपाललाई मात्र नभई उपेन्द्र यादवलाई पनि फाइदा पुगिरहेको छ ।

यसैगरी, देउवाले नेपाली काँग्रेसको महाधिवेशन पाचौंपटक सार्दैछन् । ५ वर्षभित्र गरिसक्नुपर्ने र विशिष्ट परिस्थितिमा ६ महिना लम्ब्याउन सकिने भएपनि देउवा तयार भएनन् । क्रियाशील सदस्यताको विवादका कारण वडा तहकै अधिवेशन हुन सकेन । अब तीन हप्तापछि निर्धारित मिति छ । महाधिवेशन भदौमा हुने सम्भावना छैन ।

महाधिवेशन सार्नुमा देउवाको आफ्नै वाध्यता पनि छ । उनको पक्षमा केही हस्ती नेताहरु बिच्किएका छन् । विमलेन्द्र निधि टाढिएका छन् । उनकै पक्षका नेताहरुमा पनि द्वन्द्व छ । आफ्नो पक्षका हस्ती नेताहरुले साथ नदिएर इतर समूहको बलियो एकता भएमा देउवालाई फेरि सभापति जित्न मुश्किल पर्न सक्छ ।

काँग्रेसभित्र रामचन्द्र पौडेल, कोइराला परिवार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिमध्ये एकलाई साथ लिन नसके देउवालाई महाधिवेशन चुनौतीपूर्ण हुनसक्छ । अर्कोतर्फ, इतर समूह मिलेमा या कोइराला परिवार, प्रकाशमान सिंह र विमलेन्द्र निधि एकजुट भएमा मात्र पनि सभापति जित्न मुश्किल हुनसक्छ । त्यसैले देउवा अगाडि बढ्न चाहिरहेका छैनन् ।

मन्त्रिमण्डल विस्तार गरेर महाधिवेशनमा जाँदा असन्तुष्टहरुलाई पक्षमा पारिरहन कठिन हुन सक्छ । देउवा त्यसबारे जानकार छन् । त्यसैले पनि उनी तत्काल महाधिवेशन गर्न चाहिरहेका छैनन् ।

देउवाले राजनीतिक अझै तरल अवस्थामा भएको बुझेका छन् । दलहरु कमजोर अवस्थामा छन् । सबै कुरा अदालतको हातमा गएको छ । प्रधानमन्त्री भएपछि उनी विगतमा भन्दा शक्तिशाली भएका छन् । तर, सरकार गठबन्धनको छ । प्रचण्ड जस्ता चतुर र माधवकुमार नेपाल जस्ता संसदीय राजनीतिका खेलाडीको साथ हिंड्न सजिलो छैन । संवैधानिक निकायमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेकाहरु नै छन् । यसकारण देउवाको शक्ति धेरै बढेको छैन । उनी महाधिवेशनमा होमिइहाल्न पछि हट्नुको कारण पनि यही हो ।



प्रतिक्रिया दिनुहोस्