Logo

लुम्बिनीमा मन्त्री बनेका अजय शाहीको पद धरापमा



बुटवल, २९ साउन । लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री अजय शाहीको पद धरापमा परेको छ । सुर्य चिन्ह लिएर नेकपा एमालेबाट चुनाव जितेका उनी कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै मन्त्री बनेपछि सांसद पदबाट हटाउने प्रक्रिया बढाइएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेशका सचेतक भूमिश्वर ढकालले शाहीलाई लिखित स्पष्टिकरण सोधेको जानकारी दिए । अब उनको सांसद पद खारेजीको प्रक्रिया बढ्ने भएको छ । शाही स्वतन्त्र समूहबाट एमालेको सुर्य चिन्हबाट निर्वाचित भएका थिए । नवलपरासी पश्चिम १ ख का सांसद उनले १९ वैशाखमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्तक्षर गरेर अर्को दिन फिर्ता लिएको घोषणा गरेका थिए । तर, अहिले उनी फेरि गठबन्धनबाट बनेको सरकारको पक्षमा लागेर मन्त्री भएका छन् ।

शाहीले भने सुर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद भएको दाबी गरेका छन् । उनले सांसदबाट पदमुक्त गर्न खोजे अदालत जाने बताए । तर, जानकारहरु अदालत र निर्वाचन आयोगले स्वतन्त्र नभई एमालेकै सांसदका रुपमा चिन्ने बताउँछन् । यसकारण शाही अप्ठ्यारोमा पर्न सक्छन् ।

यसैगरी, दाङकी निर्वाचित प्रदेश सभा सांसद बिमला वलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधिसकेका छन् । उनको पनि सांसद पद खारेजीको प्रक्रिया बढाइएको छ ।
तत्कालीन नेकपाबाट विजयी वलीले पार्टी विभाजनपछि जुनसुकै खेमामा जान स्वतन्त्र भएको जिकिर गर्दै आएकी छिन् । उनी सुर्य चिन्हबाट निर्वाचित हुन् । तर, एमालेबाट नभई नेकपाबाट निर्वाचित भएकी हुन् । नेकपामा एमाले र माओवादी केन्द्र दुवै थिए ।



प्रतिक्रिया दिनुहोस्