Logo

गैरआवासीय नेपाली संघका प्रतिनिधिद्धारा परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता



काठमाडौं, २९ साउन । गैरआवासीय नेपाली संघका अगुवाहरुले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेका छन् । संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछानेलगायत परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गर्न पुगेका थिए ।

उक्त भेटमा अध्यक्ष पन्तले गैरआवासीय नेपाली संघले नेपाल सरकारसँगको सहकार्यमा हालसम्म भएका कामका बारेमा स्मरण गराउँदै आगामी दिनमा पनि सोही किसिमको सहकार्यको अपेक्षा राखेको बताएका छन् । पन्तले नेपालमा एनआरएन डेभलप्मेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्बको लगानीका लागि सहज वातावरण निर्माणका लागि नेपाल सरकारले सहजिकरण गरिदिन आग्रह गरेका छन् ।

फण्डमार्फत छिट्टै आइपीओ जारी गर्ने र विदेशमा रहेका साना लगानीकर्ताहलाई पनि लगानीको अवसर प्रदान गर्ने अध्यक्ष पन्तले जानकारी गराए । लगानीका लागि केही नीतिगत व्यवस्था आवश्यक भएकोले त्यसतर्फ पनि अध्यक्ष पन्तले ध्यानाकर्षण गराए ।

अध्यक्ष पन्तले आगामी अक्टोबरमा आयोजना गर्न लागिएको संघको १०औं महाधिवेशनबारे जानकारी दिँदै त्यसका लागि सरकारको तर्फबाट पनि उच्चस्तरीय आयोजक समिति गठन गर्न अनुरोध पनि गरेको जनाईएको छ । गैरआवासीय नेपाली नागरिकता र ऐन २०६४ को संशोधनको कार्यान्वयन सम्बन्धमा पनि अध्यक्ष पन्तले सचिव पौड्यालको धयानाकर्षण गराएको सचिवालयले जनाएको छ ।

भेटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल सरकारले विदेशमा रहेका नेपालीको लगानीलाई विशेष प्राथमिकता दिएर भित्र्याउनुपर्नेमा सचिव पौडेलमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै लामो समयदेखि गैरआवासीय नेपाली नागरिकताको विषय विचाराधीन अवस्थामा रहेकोले त्यसको कार्यान्वयनका लागि बारम्बार ध्यानाकर्षण गराएपनि माग सम्बोधनमा भइरहेको ढिलाईबारे पनि उनले गुनासो राखेका थिए । परराष्ट्र मन्त्रालय नै फोकल मन्त्रालय भएकोले सहकार्य र समन्वय अपरिहार्य रहेको महतोको भनाई थियो ।

डा. महतोले गैरआवासीय नेपाली ऐन २०६४ मा गैरआवासीय नेपालीका लगानी सम्बन्धि व्यवस्था गरिएको तर त्यसमा केही संशोधन आवश्यक भएकोले त्यसको लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिदिन आग्रह गरे ।

यस्तै, सो अवसरमा संघका पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएन फण्डले सबै गैरआवासीय नेपालीहरुलाई लगानी गर्ने अवसर प्रदान गर्न सक्ने गरि स्थापना गरिने र यस फण्डले भविष्यमा ठूलो आकार लिने भएकाले सरकारले यसका लागि सहजीकरण गरिदिन आग्रह गरे ।

उक्त अवसरमा, एनआरएन डेभलेप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले हालसम्मको प्रगतिबारे जानकारी गराउँदै फण्ड परिचालन गर्न सहयोग गर्ने केही नीतिगत निर्णय गर्नपर्ने सुझाव व्यक्त गरेका थिए ।

सो अवसरमा सचिव पौडेलले गैरआवासीय नेपाली संघ समग्र आवासीय र गैरआवासीय नेपालीहरुका प्रेरणाको स्रोत हुनपर्ने र यसले मातृभूमिको हकहितको लागि ठूलो योगदान पुर्याउन सक्ने उल्लेख गरेका छन् । यसलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउन पर्ने सुझाव दिँदै उनले सरकारले गर्नसक्ने सबैखाले सहयोगका लागि तयार रहेको बताए । यस्तै आसन्न १० औं महाधिवेशन सफल पार्न मन्त्रालयले विगतमा जस्तै सहयोग गर्ने र त्यसका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने जानकारी पनि पौड्यालले दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot