पदम विश्वकर्मा : मन्दिर परिसरभित्र एकतमासको भीड छ । मन्दिरमा पूजाका लागि सहरका विभिन्न भागहरूबाट मानिसहरूको ओइरो लागेको थियो । पूजा गर्नेहरूको भीड । हातहातमा पूजाको थाली र थालीथालीमा पूजाका सामग्रीहरू । रातो सारीमा उभिएका छोरी मान्छेहरू हेर्दा तीजको मेलाजस्तै लाग्दथ्यो ।
केही वर्ष पहिलाको कुरा हो । पुजारी बाजे एक–दुई हप्ता बिराएर मेरो घर आइरहन्थे । शनिबार साँझ वा आइतबार साँझ पुजारी बाजेको प्रायःजसो बास मेरो घरमा हुने गरेको थियो । यो क्रम चलेको निकै महिना बितिसकेको थियो ।
यस क्षेत्रमा नेपाली र भुटानी नेपालीहरूको सङ्ख्या दस हजारजति पुगिसकेको थियो । नेपालीहरू संसारको जुनसुकै मुलुकमा पुगे पनि आफ्नो धर्म, संस्कृति, परम्परा, रीतिरिवाज सँगै लगेका हुन्छन् । नेपाली वा भुटानी नेपालीहरू विभिन्न चाडपर्व वा व्रतहरूमा विभिन्न हिन्दू मन्दिरहरूमा धाउने गर्दथे । सधैँ टाढाटाढाका मन्दिरहरूमा जानुपर्दाको पीडा अर्कै थियो । भाषा नमिल्ने, पूजाविधिको प्रक्रिया नमिल्ने, मन्दिर खुल्ने र बन्द हुने समय नमिल्ने, दान दिएका दानहरू ग्रहण नगरिदिने आदि इत्यादि समस्या थिए ।
नेपालीहरू पूजाआजामा मात्रै आपूmलाई सीमित राख्दैनन् । उनीहरू दानदक्षिणा, सामाजिक, सांस्कृतिक सङ्घसंस्थाहरू गठन, मठमन्दिर निर्माण आदि सामुदायिक कार्यहरूमा पनि उत्तिकै सक्रिय देखिन्छन् । नेपाली समुदायको सङ्ख्या बढ्दै जाँदा सबैलाई आफ्नो ठाउँमा एउटा मन्दिरको खाँचो रहेको महसुस भयो । यसको लगत्तै केही नेपालीहरू, व्यापारीहरू र बुद्धिजीवीहरू मिलेर मन्दिर निर्माण गर्ने सहमति भयो । अलिक पर एक चर्च खरिद गरी त्यहाँ मन्दिर स्थापना गर्ने छलफल चल्यो र केही धर्मगुरुहरूसँगको राय, सल्लाहपश्चात् मन्दिर स्थापना भयो ।
मन्दिर औपचारिक रूपमा स्थापना गर्ने दिनदेखि एक हप्तासम्म महापुराणको आयोजना भयो । अधिकांश भक्तजनहरू नियमित रूपमा हप्ताभरि नै मन्दिर पुगे । अर्चना र दान—दक्षिणा गरे । सप्ताह भव्य रूपमा सम्पन्न भयो । गुरुहरू आ—आफ्ना स्थानमा फर्के । नेपालीहरूका मन्दिरको माग पूरा भयो । हरेक चाडपर्व, पूजाआजाको दिन सबै नेपाली मन्दिर जान थाले । सबैमा एक किसिमको प्रसन्नता छायो ।
मन्दिरको स्थापना सँगसँगै सप्ताहका लागि नेपालबाट पुजारी झिकाइएको थियो । सप्ताह सकिएपछि मुख्य पुरोहितहरू फर्के पनि एक पुजारी नियमित रूपमा मन्दिरमै रहने निर्णय भयो । उनको दैनिक खर्च, खाने, बस्ने आदि इत्यादि मन्दिर व्यवस्थापनले बेहोर्ने निर्णय भयो । पुजारी पनि खुसी भएर र सहमति प्रकट गरे । समुदाय पनि खुसी ।
नेपाली र भारतीय पुजारीहरू विदेशका मन्दिरमा बसेर त्यस देशको प्रवेशाज्ञा प्राप्त गर्ने प्रचलन चलिआएको थियो । यहाँको मन्दिरमा पुजारीको प्रवेशाज्ञाका लागि मन्दिर व्यवस्थापन समितिले सम्बन्धित निकायमा प्रबन्ध मिलाउने व्यवस्था मिलाइयो । पुजारी खुसी भए । केही वर्षपछि नेपालमा रहेका आफ्ना श्रीमती र बालबच्चाहरू अमेरिका आइपुग्ने आशामा उनका दिनहरू बित्न थाले ।
सानो उमेरमै बनारस पुगेका पुजारीले बनारस हिन्दू विश्वविद्यालयबाट शास्त्री पास गरेका थिए । बनारस आश्रमबाट वेद—वेदादि, नित्यकर्म, पूजाआजा, विधि आदि पढेका र गुरुहरूको आशीर्वचन, भिक्षा आदि पनि प्राप्त गरेका थिए । ६ वर्षको उमेरमा बनारस पुगेका पुजारीले करिब चालिस वर्ष यिनै काममा आफ्नो जीवन समर्पण गरेका थिए । कथावाचन शक्ति, पूजाआजा, व्रतादि, मन्त्रोच्चारण आदि सबै काममा उनी पोख्त थिए र यी सबै कार्यबाट उनको ज्ञान र क्षमता पुष्टि हुन्थ्यो । पूजाका निमित्त उनी अन्य राज्यहरूमा पनि भ्रमण गर्न पुगे । यसैमा उनको दिनाचर्या बित्दै गयो र भ्याई नभ्याई हुन थाल्यो ।
दिन बित्दै गए । वर्षहरू बित्दै गए । श्रीमती र परिवार अमेरिका ल्याउने र सँगै बाँकी जीवनयापन गर्ने उनका आकाङ्क्षाहरू पनि बिस्तारै बिलाउँदै गए । उनमा दिनप्रतिदिन निराशाका रेखाहरू थपिँदै गए । उदासीनता थपिँदै गए । सानै उमेरमा घर त्याग गरेका पुजारी पारिवारिक स्नेहबाट टाढिँदै गएकाले उनको मनमा अधैर्य र विचलन पैदा हुनु स्वाभाविकै थियो । यी चिन्ता, वेदना र रोदन बिसाउने ठाउँको आवश्यकता दिन प्रतिदिन बढ्दै गयो । स्नेह र पारिवारिक माहोलको खाँचो महसुस हँुदै गयो ।
मन्दिरमा पूजाआजा, व्रत, धर्म आदिका लागि भक्तजनहरूको प्रवेश बढ्न थाल्यो र उनले भक्तजनसँग सम्बन्ध बढाउँदै लगे । पुजारी भक्तजनहरूसँग झ्याम्मिँदै गए । अलिकति भए पनि उनलाई परिवारको अभावलाई बिर्सन सजिलो भयो । भक्तजनहरू, समाजसेवीहरू मेवामिष्ठान्न बोकेर मन्दिर पुग्थे । पुजारी मन्दिरमा आएका प्रसादहरू बोकेर भक्तजनकहाँ पुग्थे । यो क्रम चल्दै गयो र पुजारी समुदायमा लोकप्रिय बन्दै गए ।
यो क्रम चलेको झन्डै चार वर्षपछि उनको परिवार अमेरिका आउने आशा एक किसिमले टुङ्गिएको थियो । भक्तजनबाट प्राप्त हुने माया, सद्भाव, आफ्नी श्रीमती र बालबच्चाबाट प्राप्त हुने माया, ममता, प्यारमा आकाश जमिनको फरक हुन्छ नै । श्रीमती, बालबच्चा आउन नसक्ने निश्चित भएपछि उनलाई वियोगको पीडाले विचलित बनाउँदै लग्यो । मनभरि पारिवारिक पीडाको आगो ह्वार ह्वार दन्कन थाल्यो । पारिवारिक विछोडको भुङ्ग्रोमा पिल्सिँदै गए । त्यो पीडा सहज भने थिएन र सामान्य पनि थिएन । भित्री मनले भने नेपाल फर्कन भनिरहेको थियो । परिवारबाट दिनहुँजसो आउने फोनले घरै फर्कन कर गरिरहेको थियो । घर फर्कने कि यतै केही समय प्रतीक्षामा बिताउने ! उनमा दोधार मानसिकताको विकास हुन थाल्यो ।
उनी हस्तरेखा विज्ञानमा पनि उत्तिकै खप्पिस थिए । मन्दिरमा आफ्नो हस्तरेखा या भाग्यरेखा हेर्नेको लाम लागिरहन्थ्यो । मैले पनि यो अवसर प्राप्त गरेको थिएँ । उनले अरूलाई जस्तै म र मेरी श्रीमतीलाई पनि भाग्यशाली नम्बरहरू लेखेर सुटुक्क दिएका थिए ।
मन्दिरको आवास, खाना, सुविधा के कस्तो छ भनेर म प्रायः सोध्ने गर्थें । दाल, चामल, सागसब्जी, दूध, घ्यू, सिरक, हिटर आदि बोकेर मन्दिर जाने मेरो नियमित कामजस्तै बनेको थियो । मन्दिरमा पूजाआजा नभएको दिन उनी मेरो घरमा आउँथे । घरमा बनेको खाना खानु उनको सोखकै विषय थियो ।
घरमा उनी प्रायः शनिबार र आइतबार आउने गर्थे । लिन जाने र पुर्याउन जाने मेरो दायित्व बनेको थियो । घरमा आउँदा उनले आफ्नो पारिवारिक बिछोडको वेदना पोख्थे । पुजारीको वेदनाले म र मेरी श्रीमती भावविह्वल बन्थ्यौँ । उनको पीडामा हामी पनि समाहित बन्थ्यौँ । हामीसँगको भेटमा एकैछिन भए पनि पारिवारिक वेदना बिर्सने प्रयास हुन्थ्यो उनको ।
गर्मीको साँझ छोराहरू घरपछाडिको चौरमा भलिबल खेल्थे । घरपछाडि रहेको बगैँचामा पुजारी र म गफ गर्दै सुखदुःखका भावनाहरू आदानप्रदान गरी बस्थ्यौँ । श्रीमती भान्सामा खाना बनाउँदै हुन्थिन् ।
एकदिन साँझ पुजारी मेरो घर आइपुगे । हामी दुवै घरपछाडिपट्टिको टेबलमा बस्यौँ । उनले मसँग प्वाइन मागे । अहिलेसम्म नसुनेको कुरा मागेको सुनेर म आश्चर्यचकित भएँ । उनले मागेको कुरा मैले बुझ्न सकिनँ । उनले दोहो¥याए, तेहे¥याए । तर मेरो मानस शब्दकोशमा प्वाइनको अर्थ खुलेन । मैले बुझ्न नसकेपछि बाजेले सुटुक्क मेरो कानमा आएर भने — “वाइन क्या हजुर !”
मैले गलासम्म आएको हाँसोलाई गलामै रोकेँ । त्यसपछि छोरालाई वाइन लिन लिकर स्टोर पठाएँ । उसले वाइन ल्याएर हाम्रो टेबुलमा राखिदियो । उनले स्टिलको गिलास मगाए । सायद बाहिरबाट वाइन नदेखिने भएर उनले स्टिलको गिलास मगाएका होलान् । कण्ठी लगाएको हुनाले मासुचाहिँ कहिल्यै खाँदैनथे । तर मनको बह मेट्न उनले हरेक पटक ‘अङ्गुरको रस त हो नि !’ भन्दै प्वाइन सेवन गर्थे । ‘कसैलाई नभनिदिनू है !’ भन्दै बेलाबेलामा अनुरोध पनि गर्थे उनी । प्वाइन टन्न पिएपछि उनी कोठामा जान्थे र घुर्न थाल्थे ।
हामी उनलाई ‘प्वाइन बाजे !’ भन्दै जिस्काउने गर्थ्र्यौं । एक दिन सानो छोराले सोध्यो — “पापा, प्वाइन बाजे कहिले आउनुहुन्छ ?” छोटो उत्तरमा मैले भनेँ — “शनिबार ।”
पुजारी बाजेको विदेश बसाइ तनावग्रस्त थियो । पारिवारिक बिछोड तनावको प्रमुख कारण थियो । रात बित्थ्यो, फेरि दिन आरम्भ हुन्थ्यो । उनका लागि दिन र रातमा केही अन्तर थिएन । “रातमा पनि म यत्तिकै जागा रहन्छु हजुर !” उनी भन्थे । उनको शरीरको पारो चढेर सधैँ सय नाघ्थ्यो । मन आधा परदेश र आधा घरदेशमा विभक्त थियो । भित्री ज्वरोका कारण सधँै चिट्चिट पसिना बगिरहन्थ्यो र पसिनाको नदी बनेर चिउँडोबाट बगेको देखिन्थ्यो ।
पुजारीलाई हरेक दिन अङ्गुरको रस पिउने बानी परिसकेको थियो । त्यो समरभरि प्रायःजसो उनको बास मेरै घरमा भयो । केही महिनापछि उनी फेरि मेरो घरमा आए । टन्न प्वाइन पिए । यो अन्तिम रात हो’ भन्दै उनी घुँक्कघुँक्क रोए र बिदा भए । त्यसपछि उनी कहिल्यै भेटिएनन् ।