Logo

यी हुन् प्रेमिकालाई आगो लगाई १६ वर्षदेखि फरार गबहादुर



काठमाडौं, ३० साउन । गबहादुर खत्रीले १६ वर्ष अघि प्रेमिका भगवती अधिकारीलाई कोठामा आगो लगाई फरार भएका थिए । मट्टीतेल छर्केर आगो लगाई फरार गबहादुर त्यतिबेला ३० वर्षका थिए । उनी त्यसपछि शिवजी खत्रीको नामले काठमाडौंमै लुकिछिपी बस्न थाले ।

पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाङ्गथलीमा बस्दै आएको प्रहरीले पत्ता लगायो । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीमाथि निगरानी बढायो । सबै प्रमाणहरु संकलन गरेर २७ साउनमा तास खेलिरहँदा पक्राउ गरेको छ ।

६ पौष २०६२ को साँझ साँढे ७ बजे कलंकीको लामपाटीस्थित डेरा कोठामा भगवतीलाई आगो लगाई झ्यालबाट फाल हालेर गबहादुर भागेका थिए । कोठामा आगो लागेपछि सोही घरमा बस्ने मानिसहरु देखेर कोठाको ढोका फोडी भगवतीलाई गम्भीर अवस्थामा उपचारका लागि लगेका थिए । उपचारका क्रममा उनको ७ पौष २०६२ मा मृत्यु भएको थियो ।

रामेछापको माकादुङ्ग गाविस ५ हाल खाँडादेवी गाउँपालिका ६ घर भएका गबहादुरले नै हत्या गरेको खुलेको थियो । विवाहित भगवती र गबहादुरबीच प्रेम सम्बन्ध भएपछि घरबार समेत बिग्रिएको थियो । भगवतीका पतिले डिभोर्स गरेका थिए । उनका छोराछोरी मामाघर बस्दै आएका थिए । घरबार बिगारिदिएका गबहादुरले भगवतीको आगो लगाएर हत्या गरी फरार भए । तर, उनको अपराध लुकेन । उनी १६ वर्षसम्म फरार भए तर अन्तमा पक्राउ परे ।

सीआइबी प्रवक्ता एसपी श्याम कुमार महतोका अनुसार गबहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्