काठमाडौं, ३० साउन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीलाई बलियो बनाउनको लागि ‘गरिखाने कार्यक्रम’ गाउँ गाउँमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
आज नेपाली कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ को भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उक्त समितिका सह–संयोजकसमेत रहेका नेता खड्काले गरिखाने कार्यक्रमलाई जनतामा पुर्याउनुपर्ने बताएका हुन् ।
उनले भने,‘यसमा गुट/उपगुट हुँदैन । समग्र रुपमा कांग्रेसलाई बलियो बनाउनुपर्छ, आम गरिब जनतालाई गरिखाने बनाउनुपर्छ । यसको लागि यो कार्यक्रम देशव्यापी रुपमा लैजानुपर्छ ।’
समितिको बैठकमा संयोजक विनोद कुमार चौधरीले अहिले आफ्नो धारणा राखिरहेका छन् । उक्त अवसरमा समितिका सदस्यहरुले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना र बधाई दिएका थिए । समितिको बैठक समिट होटलमा जारी छ ।