Logo

ठाकुर र महतो केन्द्रीय सदस्यबाट पनि हटाइए



काठमाडौं, साउन ३१ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसहित १६ जना नेतालाई केन्द्रीय समितिबाट हटाएका छन्। आगामी भदौ १ र २ मा बस्ने भनिएको जसपाको केन्द्रीय समितिको बैठकमा ठाकुर तथा महतोसहित ठाकुरनिकट १६ जना नेतालाई अध्यक्ष यादवले नबोलाउने भएका छन्।

जसपाले आइतबार ठाकुर–महतोलगायतका नेताविनै निर्वाचन आयोगमा केन्द्रीय सदस्यको सूची पठाउने भएको छ। कार्यकारिणी समिति सदस्य इस्तियाक राईले भने, ‘अब उहाँहरू (ठाकुर,महतो) पार्टीको सदस्य मात्र हुनुहुन्छ। त्यसैले केन्द्रीय समितिको बैठकमा उहाँहरूलाई बोलाएका छैनौं।’

केही दिनअघि जसपाले निर्वाचन आयोगमा अद्यावधिक गर्न पठाएको सूचीमा महन्थ ठाकुरलाई अध्यक्ष पदबाट हटाइएको छ। जसपाले अद्यावधिक गरेको सूचीमा कार्यकारिणी समितिमा ३५ जना नेतालाई मात्र राखिएको छ। आयोगले सूची अद्यावधिक गरेपछि ठाकुरले अध्यक्ष पद लेख्न छाडेका छन्। यसअघि उनले जसपा अध्यक्षको नामबाट तराई मधेसमा कार्यक्रम गरेका थिए।

जसपाको आधिकारिकताको विवादमा निर्वाचन आयोगले ‘व्यक्ति गणना’ गर्दा ठाकुरलाई साथ दिएका सबै नेतालाई पार्टी अध्यक्ष यादवले कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यबाट हटाएका हुन्। जसपा गठन भएपछि भदौ १ र २ गते बस्न लागेको केन्द्रीय समितिको बैठक पहिलो हो। केन्द्रीय समितिको पहिलो बैठक नबस्दै पार्टी विभाजित भएको छ। यद्यपि कानुनी रूपमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टीको नाम घोषणा गरेका छैनन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot