काठमाडौं ३१ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रणनीतिक रुपमा चतुर नेता हुन् । जोखिम मोल्न सक्ने आक्रामक रणनीतिका उनले जस्तोसुकै कठिन चुनौतीको सामना गरेर राजनीतिक कौशल प्रदर्शन गर्दै आएका छन् । पाताल पुग्न लागिसक्दा पनि जुरुक्क उठ्न सक्ने क्षमताले अहिलेका नेताहरुमा प्रचण्ड निकै प्रभावशाली प्रमाणित भएका छन् ।
प्रचण्डले अहिलेको राजनीतिक परिवर्तनको जस आफैले लिएका छन् । गणतन्त्र, धर्मनीरपेक्ष र संघीयतामा आफ्नो मुख्य भूमिका रहेको सन्देश दिइरहन्छन् । यसपटक उनले पछिल्लो राजनीतिक पहलकदमी आफैले लिएको अभिव्यक्ति दिए ।
प्रचण्डमाथि एमाले नेता शंकर पोखरेलले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति अझै नछाडेको टिप्पणी गरेका छन् । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीको टाउकोमा हान्ने प्रयास गरेको आरोप लगाए । हुनपनि अहिलेको रणनीतिक योजना प्रचण्डकै थियो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समेत साथ लिएर उनकै दलका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डले मुख्य भूमिका खेले । प्रचण्ड स्वयंले अहिलेको राजनीतिक पहलकदमी माओवादीले लिएको राजनीतिक प्रतिवेदनमै उल्लेख गरेका छन् ।
नेकपा छँदा पनि ओलीसँगको द्वन्द्वमा प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत हस्तीहरुको साथ लिएका थिए । नेकपाको पहिलो अध्यक्ष बनेर ओलीलाई हटाउने उनको प्रयास सफल भने भएन । तर, नेकपा नै विघटन भयो ।
२०७४ सालको स्थानीय निर्वाचनमा प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग कतिपय ठाउँमा गठबन्धन बनाए । उनी सरकारमा देउवासँगै गठबन्धनमा थिए । स्थानीय निकायमा माओवादीको एकल क्षमताले जित्नेभन्दा बढी ठाउँमा जित हासिल गरे । तर, २०७४ को आमनिर्वाचनमा ओलीसँग गठबन्धन बनाएर माओवादी एक्लैले जित्ने सिटभन्दा बढी सिट जिते । समानुपातिक सिटभन्दा प्रत्यक्षतर्फको सिट संख्या माओवादीको दोब्बर जत्तिकै थियो । प्रचण्डले ओलीको ढाडमा टेकेर देउवाको टाउकोमा प्रहार गरेको चर्चा चल्यो ।
शान्ति प्रक्रियामा आउन १२ बुँदे समझदारी गरेर प्रचण्डले गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेका थिए । त्यो सहकार्यबाट माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा अवतरण गर्न सफल भयो । तर, कोइरालाको साथ लिएर आफ्नो एजेन्डाहरु पूरा गर्न थाले । यतिसम्मकी कोइरालाले गराएको चुनावमा उनको दल नेपाली काँग्रेस नराम्रो पराजय भोग्न वाध्य भयो ।
दशक लामो सशस्त्र द्वन्द्वमा पनि प्रचण्डले रणनीतिक चार्तुयता देखाए । काँग्रेस र एमालेबीच द्वन्द्व चर्काउन सकेका थिए । त्यसको फाइदा उनैले लिए । पछि माओवादीले तत्कालीन राजासँग वार्ता गर्ने कुरा पनि गर्यो । यसले मुख्य राजनीतिक दलहरु अप्ठ्यारोमा परे । त्यसपछि उनीहरु माओवादीसँग सम्झौता गरेर अघि बढ्न वाध्य भएका थिए ।
यी रणनीतिहरुबाट प्रचण्ड राजनीतिमा आरोह र अवरोहबीच केन्द्रमा रहिरहेका छन् । उनी प्रधानमन्त्रीको पदभन्दा एजेन्डालाई मुख्य ठानेर प्रभावशाली बन्दै आएका छन् । त्यसैले गिरिजाप्रसाद कोइरालालाई जनआन्दोलनपछिको प्रधानमन्त्री मान्न तयार भएर उनैले गराएको चुनावबाट अभूतपूर्व सफलता हासिल गरे । सुशील कोइरालालाई दोस्रो संविधानसभापछिको प्रधानमन्त्री बन्न सघाएर आफ्नो एजेन्डा धेरैभन्दा धेरै समेटिएको संविधान जारी गर्ने अवस्था बनाउन सके ।
कहिले देउवालाई प्रधानमन्त्रीमा साथ दिएर स्थानीय चुनावमा सफलता हासिल गरे त कहिले ओलीसँग गठबन्धन बनाएर आमनिर्वाचनमा सफलता हात पारे । ओलीलाई प्रधानमन्त्री बनाएर एमालेसमेतको नेकपामा नियन्त्रण बनाउन खोजेका थिए । तर, उनी पूर्ण सफल हुन सकेनन् । अहिले देउवालाई प्रधानमन्त्रीका लागि साथ दिएर आगामी चुनावमा ठूलो सफलता हासिल गर्न खोजेका छन् ।
प्रचण्डले आगामी आमनिर्वाचनमा नम्बर एक दलको नेता बन्ने योजना बनाएको खुलिसकेको छ । उनले चुनावैसम्म गठबन्धनको विषय राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । नम्बर एक पार्टीको नेता बन्ने दुरगामी योजना देखिदैछ । त्यसका लागि विचार मिल्ने समाजवादी धारका पार्टीहरुबीच एकता वा गठबन्धन बनाएर जाने तयारी गरिरहेका छन् ।