काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नास्तिक हुन् । देशमा धर्मनीरपेक्ष स्थापित गर्न उनले महत्वपूर्ण भूमिका निभाएका थिए । अहिले पनि उनी धर्मनीरपेक्षताविरुद्ध लाग्नेहरुमाथि आक्रामक अभिव्यक्ति दिने गर्छन् ।
प्रचण्डले दशैं धेरै समयसम्म मनाएनन् । पछिल्लो समय भने टीकाटालो गर्न थालेका छन् । तर, यसपटक उनले दशैं बेवास्ता गर्दा माओवादी केन्द्रमा हंगामा मच्चिएको छ ।
दशैंको बेवास्ता गरी माओवादी केन्द्रको विभिन्न तहका अधिवेशनहरुको मिति प्रस्ताव गरेका छन् । जसमध्ये ३० असोजमा ७५६ वटा स्थानीय तहमा गाउँ नगर अधिवेशन गर्ने प्रस्ताव छ । २९ असोजमा दशैंको टीका छ । भोलिपल्टै स्थानीय तहको अधिवेशनको मिति तोकिएको छ ।
दशैंको टीकाको भोलिपल्ट अधिवेशन राखिएको भन्दै मिति सच्याउन नेताहरुले माग गरेका छन् । अधिकांश नेताहरुले सच्याउन माग गरेपछि प्रचण्ड अप्ठ्यारोमा परेका छन् । माओवादी पार्टीमा नास्तिकहरु नेतृत्वमा रहेपनि धेरै कार्यकर्ताले धर्म मान्ने गरेको देखिएको छ । उनीहरु दशैं, तिहारलगायत मुख्य चाँडपर्वहरु धुमधामसँग मनाउने गर्छन् । दशैंको टीकाको भोलिपल्ट अधिवेशन राखेर सम्भव नहुने विषय राखेका छन् ।