तालिवानले फेरि अफगानिस्तानमा कब्जा जमाउँदैछन् । उनीहरु काबुलमा नियन्त्रणका लागि तयारी अवस्थामा छन् । काबुलको मुख्य प्रवेशद्वारहरुमा तालिवान लडाकु छन् । उनीहरु शान्तिपूर्ण सत्ता हस्तान्तरणको पर्खाइमा छन् । नभए बल प्रयोगका लागि तयार छन् ।
तालिवान काबुल पस्दै गर्दा साँढे २ दशक अघिको घटनाहरु सम्झेर सन्त्रास छ । उनीहरु यसरी नै अफगानिस्तानका मुख्य शहर कब्जा गर्दै काबुल पसेका थिए । विरोधीहरुको निर्मम हत्या गरेका थिए । महिलालाई बुर्का लगाउन वाध्य पारेका थिए । विद्यालय जानबाट वञ्चित गरेका थिए । इस्लामिक कानुन लागू गर्ने भन्दै क्रुरता प्रदर्शन गरेका थिए ।
तालिवानले क्रुरतापूर्वक हत्या गरेकामा पूर्व राष्ट्रपति डा. मोहम्मद नाजिबुल्ला पनि थिए । रुसको साथ पाएका अफगानिस्तानका नेता थिए नाजिबुल्ला । सन् १९८६ देखि १९९२ मा अफगानिस्तानको राष्ट्रपति बनेका उनी सत्तामा रहँदा रुसले फौज फिर्ता गर्न थाल्यो ।
आफूपक्षधर नाजिबुल्ला राष्ट्रपति रहेको र उनलाई नै विदेशी फौज फिर्ताको जस दिने गरी रुसले उक्त रणनीति चालेको थियो । अर्कोतर्फ, शितयुद्धले विश्व शक्ति सन्तुलनमा फेरबदल आएपछि रुस अफगानिस्तानमा थप नोक्शानी भोग्न चाहिरहेको थिएन । ब्याक भएको थियो ।
रुसी फौजन फिर्ता भएपछि नाजिबुल्ला सत्ताबाट हटे । इस्लामिक मुजाहिद्दीन अर्थात् लडाकुहरुले अफगानिस्तानमा नियन्त्रण कायम गरे । नाजिबुल्ला संयुक्त राष्ट्रसंघको काबुलस्थित मुख्यालयमा शरण लिन पुगे । उनले भारतमा शरण लिन चाहे । तर, तत्कालीन शासकले त्यो छुट दिएन ।
कुनैबेला उनकै विश्वासपात्र अब्दुल रसिद दोस्तमले नै धोका दिए । उज्वेकी मूलका युद्ध सरदार दोस्तम क्रुर र चतुर थिए । दोस्तम अर्का युद्ध सरदार अहमद शाह मसुदसँग मिले । उनीहरुले काबुल विमानस्थलमा कब्जा जमाएका थिए । एयरपोर्टबाट नाजिबुल्लालाई अर्को मुलुकमा जान छुट दिएनन् । संयुक्तराष्ट्रसंघले नाजिबुल्लालाई विदेश पुर्याउन संवाद जारी राख्यो । तर, सफल भएन ।
काबुलस्थित भारतीय दूतावासमा शरण दिन भारतले पनि स्वीकार गरेन । जसका कारण उनी संयुक्तराष्ट्रसंघको काबुलस्थित भवनमा शरण लिन पुगेका थिए । भारतले सन् १९९४ मा एम. के. भद्रकुमारलाई दूतका रुपमा पठाएर तत्कालीन अफगानिस्तानका रक्षामनत्री अहमद शाह मसुदसँग वार्ता गर्यो । मसुदसँगको वार्तामा भारतसम्म जान दिने गरी भएको वार्ता असफल भए । मसुद तयार भएनन् । नाजिबुल्ला अप्ठ्यारोमा परे ।
सन् १९९६ को सेम्टेम्बरमा तालिवान काबुल प्रवेशको क्रममा थिए । मसुदले नाजिबुल्लालाई काबुल छाड्ने अवसर सृजना गर्न तयार भए । तर, नाजिबुल्ला तयार भएनन् । उनी किन तयार भएनन् भन्नेबारे भिन्न मत छ । मसुदबाट उनी विश्वस्त हुन नसकेको या आफ्नो समुदाय पस्तुन्सको नजरमा कायर हुने भएकाले नगएको भन्नेहरु पनि छन् ।
तालिवान काबुल पसे । २६ सेम्टेम्बर सन् १९९६ मा नाजिबुल्ला र उनका भाई साहपुरलाई राष्ट्रसंघको भवन परिसरभित्र घिसारेर निकाले । दुवैको निर्ममतापूर्वक हत्या गरे । शवलाई ट्रकमा राखेर घिसारे । शव ट्राफिक लाइटको पोलमा झुण्ड्याइयो । दुई दिनसम्म शव निकाल्न दिइएन । राष्ट्रसंघले ठूलो प्रयास गरेर शव निकाल्ने सफलता हासिल गरेको थियो ।
नाजिबुल्लाको हत्यामा अमेरिकाको सहयोग पाएको पाकिस्तानको भूमिकाको विषय उठिरह्यो । सोभियत संघको साथ र भारतसँग नजिकको सम्बन्ध रहेका नाजिबुल्लाको पतन हुँदै गर्दा पाकिस्तानको साथ पाएको तालिवान सत्तामा पुगेको थियो । त्यतिबेला अमेरिकाको पाकिस्तानसँग सुमधुर सम्बन्ध थियो । अमेरिकाले पाकिस्तानको माध्यमले तालिवानलाई भित्री साथ दिएर सोभियत संघलाई अफगानिस्तानमा कमजोर पार्न सकेको थियो ।
जसरी अफगानिस्तानको गृहयुद्धको बहानामा तत्कालीन सोभियत संघको फौज त्यहाँ पस्यो त्यसरी नै अमेरिकासहित नेटोका सौनिक प्रवेश गरे । तालिवानको पतनसँगै नयाँ परिस्थिति विकास भयो । अमेरिकी साथमा सरकार चलिरह्यो । तर, विश्वको बदलिएको शक्ति सन्तुलनले अफगानिस्तानमा अमेरिकी प्रभाव कमजोर हुँदै गयो । अमेरिकासहित पश्चिमा फौजले अफगानिस्तान छाडेका छन् । त्यो रिक्ततामा फेरि तालिवान शक्तिशाली बने । उनीहरु अफगानिस्तानको सत्ता हालतमा लिने अन्तिम क्षणमा पुगेका छन् । इतिहास दोहोरिएको छ । तालिवानहरु विगतमा जस्तै क्रुर हुने हुन् या होइनन् चासोको विषय छ ।- एजेन्सीको सहयोगमा