काठमाडौं, साउन ३२। सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले सो जानकारी दिएका हुन् । गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको उनले बताए ।
‘कदाचित कसैलाई हामी आफैंले ‘इभाक्वेट’ गरेर लिएर आउनुप¥यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायलाई राखेर यो संयन्त्र बनेको हो,’ उनले भने । उनका अनुसार अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेका छन् ।
उद्धारसँग सम्बन्धित सम्पर्कका लागि भाइबर र वाट्सएप सुविधासहितको मोबाइल नम्बर ं९७७–९७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ं९७७–९७४९३२६४५९ ९परराष्ट्र मन्त्रालय० को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाबारे जानकारी गराउन वा मन्त्रालयमा सो नम्बरमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीलाई तत्काल उद्धारका गर्न संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयलाई पत्राचार गरिसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी पनि जारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आवश्यक सहयोगका लागि दूतावासका फोन नम्बर र इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ । राजधानी दैनिकबाट