काठमाडौं, साउन ३२। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय विषयमा जानकारी दिँदै स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका कमिटीमा महिला, दलितका लागि कोटा निर्धारण गरेको बताए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित रहनेगरी कोटा निर्धारण गरिएको छ ।
त्यस्तै, पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले आगामी ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य गणेश साहले बताए ।
बैठकले प्रतिगमनको खतरा कायमै रहको भन्दै वाम लोकतान्त्रिक गठबन्धन आवश्यक पर्दासम्म कायम राख्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक विषयको प्रस्ताव पारित भएको बताए । राष्ट्रिय सम्मेलन गर्न चारमहिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णयसमेत बैठकले गरेको छ ।राजधानी दैनिकबाट