Logo

रेमिट्यान्सबाट भित्रियो ९.६१ खर्ब



काठमाडौं, साउन ३२ । आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण कमाएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा गएका नेपाली कामदाहरूले त्यस बराबरको रेमिट्यान्स (विप्रेषण) पठाएका हुन् ।

नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आवमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६/७७ आठ खर्ब ७५ अर्ब ३ करोड विप्रेषण नेपाल भित्रिएको थियो । यस आवमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।

तर, गत आवमा भने विप्रेषण आप्रवाह बढेको छ । कोरोना महामारीका कारण अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो । गत आवमा पनि कोरोना महामारी कायम रहे पनि विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कोरोनाका कारण नेपालको वैदेशिक रोजगार व्यवसाय प्रभावित भएपछि अघिल्लो आवमा विप्रेषण आप्रवाह घटेको थियो । कोरोना नियन्त्रण गर्न श्रम गन्तव्य मुलुकमा लगाइएको बन्दाबन्दीका कारण नेपालीहरू कामदारहरूले रोजगारी गुमाएका थिए । साथै, नयाँ कामदारको माग पनि ह्वात्तै घटेको थियो । त्यसैले अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो ।

तर, कोरोना विपद्कै बीच गत आवमा विप्रेषण आप्रवाहको वृद्धिदर करीब दोहोरो अंकको रहेको छ । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot