Logo

तालिवानले सत्ता कब्जा गरेलगत्तै चीनको ध्यान अफगानिस्तानमा ठूलो लगानीमा



एजेन्सी, ३२ साउन । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेलगत्तै चीन उत्साही भएको छ । उसले अफगानिस्तानमा ठूलो लगानीतर्फ ध्यान दिन थालिसकेको छ ।

चिनियाँ विदेश मन्त्रालयको धारणा आउने गरेको ग्लोबल टाइम्सले चीनले अफगानिस्तानको पुनः निर्माण र विकासमा ध्यान दिनसक्नेबारे लेखेको छ । शान्ति र स्थिरता स्थापित भएलगत्तै प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अन्र्तगत लगानी बढाउने ग्लोबल टाइम्सले जानकारहरुको भनाई भन्दै उल्लेख गरेको छ ।

ग्लोबल टाइम्सको सम्पादकीयमा चीन अफगानिस्तान मामलामा अनुकूल अवस्थामा रहेको भनिएको छ । अफगानिस्तान छाडेको अमेरिकाको ठाउँ त्यही शैलीमा नलिने भनेको छ । उसले रचनात्मक भूमिका खेल्ने भन्दै पुर्ननिर्माणमा सहभागी हुने लेखेको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ इसँग भेटेका तालिवानी नेता मुल्ला अब्दुर गनी बरादारले पनि चीनले आर्थिक लगानी गर्न सक्नेबारे कुराकानी गरेका थिए । सत्ता कब्जा नगर्दै चीन पुगेका उनले चीनको साथको पनि कुरा गरेका थिए ।

चिनियाँ विदेश मामलाका जानकारहरुले तालिवानले स्थिरता ल्याउनेतर्फ कदम चाले नराम्रो मान्न नसकिने बताएका छन् । चीनले इस्लामिक अतिवादीहरु हावी हुन नदिने गरी छिमेकी मित्रहरुसँग मिलेर प्रतिआतंकवादको रणनीति बनाइसकेको उल्लेख छ । ताजिकिस्तान र पाकिस्तानसँगको सीमामा कडाई गरिसकेको समेत भनिएको छ ।

कतिपयले चीनले अफगानिस्तानमा सेना पठाउने या बलियो पकड बनाउने विषय पनि उठाएका छन् । पश्चिमा मिडयाले यस्तो खबरहरु प्रकाशित गरिरहेका छन् । तर, चीनले अमेरिकाले जस्तो गल्ती नगर्ने चिनियाँ विश्लेषकको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । उसले भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न सक्ने विषय उठाएको छ ।

यसअघि चिनिया विदेशमन्त्री वाङ ईसँग गत महिना तालिवानी नेता मुल्ला अब्दुर गनी बरादारसहितको ९ सदस्यीय टोलीले सिनजिनमा भेटवार्ता गरेका थिए । तालिवानले चीनसँग सुमधुर सम्बन्धको प्रस्ताव राखेको थियो । चीनको चाहना अनुसार कतिपय पृथकतावादी इस्लामिक अतिवादी समूहसँग सम्बन्ध बिच्छेदको प्रतिवद्धता समेत जनाएको थियो ।-फाइल तस्बिर: एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्