Logo

यार्सागुम्बा किन्छु भन्दै लुटपाट गर्ने ७ जना पक्राउ



काठमाडौं, ३२ साउन । यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका ५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका२ घर भएका ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ घर भएका २७ वर्षीय दिपक थापामगर, काभ्रे पाँचखाल नगरपालिका १२ घर भएका २७ वर्षीय बिशाल लामा, काभ्रे तिमाल गाउँपालिका ४ घर भएका २३ वर्षीय योङदेन लामा, भक्तपुर सानोठिमी बस्ने रामेछाप दोरम्बा गाउँपालिका २ घर भएका २२ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं खुसिबु नयाँबजार बस्ने भारत घर भएका ३७ वर्षीय मोहम्मद ईसाक रहेका छन् ।

साउन २४ गते दिउँसो काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका दिपक लामा र काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बलेफी गाँउपालिका ६ घर भएका सुरेश सापकोटालाई १ किलो यार्सागुम्वा २८ लाख रुपैयाँमा खरिद गर्छु भन्दै काठमाडौं नयाँ बसपार्क मित्रनगरस्थित होटेलमा बोलाई उनीहरूले ल्याएको उक्त यार्सागुम्बा अपरिचित व्यक्तिहरुले लुटि फरार भएका थिए ।

उक्त घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा र नगद १ लाख ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot