Logo

दिल्लीमा पाण्डे र आचार्यलाई खनालको जवाफः ओलीसँगै बढ्न सकिदैन



काठमाडौं, ३२ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अगाडि बढ्न नसक्ने जवाफ दिएका छन् । नयाँ दिल्लीमा शनिबार आफूलाई भेट्न पुगेका एमाले नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्यलाई उनले ओलीसँग बढ्न नसक्ने भएकाले मार्ग स्पष्ट पार्नुपर्ने जवाफ दिएका हुन् ।

खनालनिकट स्रोतका अनुसार पाण्डे र आचार्यले पार्टी कुनै हालतमा फुट्न दिनहुँदैन भनेकामा खनालले आफू पनि पार्टी एकताको पक्षमा रहेको तर ओलीसँगै बढ्न नसकिने जवाफ दिएका थिए । उनले पाण्डे र आचार्यलाई पनि ओलीको कार्यशैली बुझ्न सुझाव दिदै भ्रममा नपर्न भनेका थिए ।

ओली एकलौटी ढंगले बढ्ने स्वभावका भएको र आफूले लामो संगत गरेको स्मरण गराउँदै पटक पटक धोका दिएको बताएका थिए । ओलीका कारण कम्युनिस्ट आन्दोलन नै ध्वस्त हुन लागेको भन्दै नयाँ ढंगले बढ्ने विकल्पबारे समेत उल्लेख गरेका थिए ।

विश्वस्त स्रोतका अनुसार पाण्डे र आचार्यले आगामी रणनीति र आफूहरुको भूमिकाबारे नेता खनालसँग परामर्श गरेका थिए । खनालले नयाँ ढंगले बढ्ने योजना सुनाएका थिए । खनालसँग भेटेपछि पाण्डे र आचार्यले आफ्नो लाइन स्पष्ट पारेर निर्णय लिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्