Logo

३० प्रतिशत केन्द्रीय सदस्य पुगे पार्टी फुट्न गरी अध्यादेश आउने



काठमाडौं, ३२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग ४० प्रतिशत केन्द्रीय सदस्य नपुग्ने भएको छ । उपाध्यक्ष भीम रावललगायत नेताहरु विभाजनको विपक्षमा उभिएपछि ४० प्रतिशत केन्द्रीय सदस्य नपुगेको हो ।

माधव नेपाल र बामदेव गौतमले ४० प्रतिशत पुर्याउन पहल गर्दा पनि नपुगेपछि त्यसै अनुसार अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको बुझिएको छ । यसअघि केन्द्रीय सदस्यमा ४० प्रतिशत भए दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउन भन्न ठिक्क परेका नेताहरुले घटाएर ३० प्रतिशतको कुरा गरेको विश्वस्त स्रोतले बताएको छ ।

नेपाल पक्षमा नवौं महाधिवेशनबाट निर्वाचित र निर्वाचन आयोगमा दर्तामा रहेका कुल केन्द्रीय सदस्यमध्ये लगभग ३५ प्रतिशत संख्या पुगेको छ । उनीहरुको हस्ताक्षर संकलन भइसकेको छ ।
यसैगरी, नयाँ दलको नाम जुरिसकेको छ । समाजवादी पार्टी शब्द राखेर दल दर्ताको तयारी भएको छ । नेपालले ३० को हाराहारीमा सांसदहरुको समेत सूची तयार गरेका छन् ।

एमाले विभाजनको अध्यादेश ल्याउनका लागि सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्यको सिफारिश गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सदर गराइसकेको छ । प्रतिनिधि सभाको अधिवेशन नभएको अवस्थामा अध्यादेश ल्याउन मिल्छ । अध्यादेश ल्याउन लागिएको सूचना पाएर एमाले अध्यक्ष केपी शर्मा ओली फरक तयारीमा लागेका छन् । उनले बालकोटमा विश्वासपात्रलाई डाकेर नेपाल पक्षमा जानसक्ने केन्द्रीय सदस्य र सांसदहरुलाई रोक्न सक्रिय भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot