Logo

रावलले एमाले फुटाउन माधव नेपाललाई साथ नदिने



काठमाडौं, १ भदौ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल कुनै हालतमा पार्टी फुटाउने पक्षको विरोधी देखिएका छन् । उनले एमालेभित्रै संघर्ष गर्ने तर फुटको पक्षमा नलाग्ने निष्कर्ष निकालेका हुन् ।

एमाले फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा रावल भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उनले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँगै संघर्ष गर्ने तर विभाजनको मार्गमा नजाने अडान लिएका हुन् ।

रावल लामो समय माधवकुमार नेपाल पक्षमा रहे । तर, पछिल्लो समय उनी तटस्थ भूमिकामा छन् । सुदुरपश्चिम क्षेत्रमा बलियो प्रभाव बनाएका रावलसँग केही केन्द्रीय सदस्यहरु र सांसद पनि छन् । उनी त्यही पकडका आधारमा एमालेभित्र ओली पछिको शक्तिशाली बनेर सक्रिय बन्ने रणनीतिमा लागेको देखिन्छ ।

पछिल्लो समय रावललाई नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यको पनि साथ रहेको छ । यो समूहले एमालेभित्र शक्ति बनेर प्रभाव देखाउने तयारी गरेको बुझिएको छ ।

रावलले पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका छन् । आइतबार महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए । भेटहरुमा उनले एमाले एकताका पक्षमा अडिग रहेको स्पष्ट पारेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्