Logo

रातभर एमाले केन्द्रीय सदस्य तानातानमा, माधव नेपालले कति बनाए



काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुने निश्चितप्रायः भएपछि केन्द्रीय सदस्यहरु तानातानमा परेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर चल्तापूर्जा नेताहरु तानातानमा लागेका हुन् ।

ओलीनिवास बालकोट र नेपालनिवास कोटेश्वरमा राति अबेरसम्म नेताहरुको ओहोरदोहोर चलेको छ । ओलीले बालकोटमै आफू पक्षधर ईश्वर पोखरेलसहित हस्ती नेताहरुलाई डाकेर तयारीमा रहन भनेका थिए । माधव नेपालले पनि कोटेश्वरमा उनीपक्षधर हस्ती नेताहरुलाई डाकेर सक्रियता देखाएका थिए ।

ओली र नेपाल पक्षमा रहेका गुट बदल्ने सम्भावना नभएकाबाहेक अलमलिएकाहरु तानातानमा परेका छन् । उनीहरुलाई दुवै पक्षका नेताहरुले सम्पर्क गरी विभिन्न आश्वासन दिएको बुझिएको छ । कतिपय केन्द्रीय सदस्यले दोहोरो भूमिका खेलिरहेको बुझिएको छ । दुवै पक्षलाई साथ दिने भनेर टारिरहेका छन् ।

माधव नेपाल पक्षमा खुलेर लागेका उपाध्यक्ष बामदेव गौतम पनि केन्द्रीय सदस्य तान्न सक्रिय भए । तत्कालीन नेकपा मालेमा लागेका र उनको साथ पाएर केन्द्रीय सदस्य भएकाहरुलाई पक्षमा पार्न लागिपरेका छन् । उनले सांसदहरुको संख्या बढाउन समेत पहल गरिरहेको बुझिएको छ ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचितमध्ये हाल रहेका २०३ केन्द्रीय सदस्यमध्ये माधव नेपालले ७० भन्दा बढीको हस्ताक्षर तयार गरिसकेको विश्वस्त स्रोतले बताएको छ । अझै केही केन्द्रीय सदस्य बढाउन र सांसद समेत तान्न नेपाल पक्ष सक्रिय भएको छ ।

माधव नेपालको पक्षमा आउन नमानेका उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई तान्ने प्रयास चलिरहेको छ । तर, उनीहरुमध्ये रावल र भट्टराई कुनै हालतमा विभाजनको पक्षमा नजाने निर्णयमा पुगिसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्