काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका छन् । आज आफूपक्षीय जनवर्गीय संगठनलाई सम्बोधन गर्दै नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका छन् ।
अब हामी पार्टीलाई क्रान्तिकारी ढंगले बढाउनेछौं, नेता नेपालले नयाँ पार्टी खोल्ने घोषणा गर्दै आफूपक्षीय नेताहरुलाई भने, तपाईंहरु संगठन बनाउन लाग्नुहोस् निराश नहुनुहोस् । पार्टीमा आरोह अवरोह उकाली आरोलाी हुने भन्दै सशक्त रुपमा लाग्न भने ।
निकै जोसिलो रुपमा प्रस्तुत भएका उनले अलग भएर जाने स्पष्ट पार्दै चुनावमा एकता वा तालमेल पनि हुन सक्ने बताए । उनले भने, हामी एकताको ढोका सधै खुल्ला राखेर बढ्दैछौं । आफू जहिले पनि एकताको पक्षमा भएको तर केपी शर्मा ओली विभाजनको पक्षमा लागेको आरोप लगाए ।
कम्युनिस्ट पार्टीहरुको गठबन्धन या एकता पनि हुनसक्ने भन्दै उनले प्रचण्डसँग सहकार्य वा एकताको संकेत गरे । विचार र मन मिल्नेहरुसँग एकता वा सहकार्य जे सुकै हुनसक्ने बताए ।
नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहँदा नेता नेपालको पछिल्लो भनाई आएको हो । उनकै आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउन लगाएर दल विभाजन सजिलो बनाइदिएका छन् ।