Logo

पार्टी खोल्न लाग्दा माधव नेपाललाई आफ्नाले साथ छाडे, अरुकाले साथ दिए



काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने घोषणा गरेसँगै उनको साथमा को को लाग्ने हुन् चासो बनेको छ । सम्भवत भोलि नै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी पूरा गरेका नेपालले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । सांसदहरु को को साथमा आउने समेत निश्चित भइसकेको छ ।

माधव नेपाललाई झलनाथ खनाल र बामदेव गौतमले नयाँ पार्टी खोल्न साथ दिने भएका छन् । खनाल नयाँ दिल्लीमा उपचाररत छन् । गौतम केन्द्रीय सदस्य र सांसदको संख्या बढाउन नेपाललाई साथ दिइरहेका छन् ।

२०५५ मा एमाले विभाजन हुँदा नेपाल महासचिव थिए । गौतमको टकराव नेपालसँगै नै भएको थियो । एमालेको नवौं महाधिवेशनमा ओलीलाई अध्यक्षका लागि गौतमले साथ दिएका थिए । जसका कारण झीनो मतान्तरले नेपाल पराजित भए । आफूबाट निकै टाढा रहेका गौतमले एमाले विभाजनको अन्तिम समयमा नेपाललाई साथ दिएका छन् ।

झलनाथ खनालसँग पनि नेपालको निकै टकराव भयो । तर, उनले पनि नेपाललाई अन्तिम अवस्थामा साथ दिइरहेका छन् ।

माधव नेपालका विश्वासपात्र मानिएका एमाले उपाध्यक्ष भीम रावल टाढिएका छन् । माधव नेपाल पक्षबाट रावल पटक पटक मन्त्री समेत बनेका थिए । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्दा सम्म साथ रहेका रावल अहिले नेपालसँग टाढिएका छन् । उनले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

लामो समय माधव नेपालसँग साथ रहेका एमाले सचिव गोकर्ण बिष्टले पनि साथ छाडेका छन् । उनले दल विभाजनसम्बन्धी अध्यादेशको खुलेरै विरोध गरेका छन् । अर्का एमाले सचिव योगेश भट्टराईले पनि अध्यादेशलाई सुनयोजित षड्यन्त्रको संज्ञा दिएका छन् । भट्टराई पनि लामो समय नेपालको साथमा थिए । तर, उनी पार्टी विभाजनको पक्षमा नरहेको भन्दै टाढिएका छन् ।

सुरेन्द्र पाण्डे माधव नेपालको पक्षबाट नवौं महाधिवेशनमा महासचिवका उम्मेदवा थिए । उनी पनि नेपालसँग टाढिएका छन् । उनले नेपाललाई साथ दिने या नदिने स्पष्ट पारेका छैनन् । एमाले सचिव भीम आचार्य पनि स्पष्ट छैनन् । माधव नेपालको पक्षमा लामो समय रहेका उनले कोटेश्वरमा पुगी कुनै हालतमा पार्टी विभाजनको पक्षमा नउभिने जवाफ दिएको बुझिएको छ ।

एमाले उपमहासचिव घनश्याम भुसाल भने नेपालको पक्षमा देखिएका छन् । उनी विगतमा बामदेवसँग निकट रहे । पछिल्लो समय नेपालको पक्षमा देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्