Logo

मेलम्चीमा लेदो रोक्ने पहल सुरु



काठमाडौं, भदौ २ । सिन्धुपाल्चोकको मेलम्ची बजार, मेलम्ची खानेपानी योजनालगायतका क्षेत्रमा पूर्वाधार नष्ट गर्ने गरी निरन्तर आइरहेको लेदोको शृङ्खला रोक्न सरकारले संयुक्त पहल थालेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सडक विभाग, स्थानीय तहलगायत सरोकारवाला मन्त्रालय तथा निकायको संयुक्त पहलमा काम सुरु भएको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले तत्कालका लागि सम्पर्क सञ्जाल तोडिएका स्थानीय गाउँबस्तीलाई सम्पर्क सञ्जालमा जोड्ने अभियान सुरु भएको जानकारी दिए ।

माथिल्लो तटीय क्षेत्रमा चार दिन बसेर त्यहाँको वर्तमान अवस्थाको अध्ययन गरेर फर्किएको टोलीको अनुभव आदानप्रदान गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अध्ययनपश्चात् प्राधिकरणलाई आगामी योजना बनाउन सहज भएको बताए । उनले भने, “परिषद्को बैठकले गरेको निर्णय पछ्याउँदै विश्वव्यापी ज्ञानका साथै स्थानीय ज्ञान, सीप र संयुक्त अध्ययन गरेर नयाँ विकास र सम्पर्क सञ्जाल जोड्ने कामको थालनी भएको छ । ”

छिमेकी मुलुकमा भएका कामको अनुभवलाई समेत ग्रहण गरिने छ । छिमेकी मुलुक चीन र भारतका विज्ञसँग परामर्श भइरहेको छ । काम गर्दा नेपाली भूभागको परिवेशलाई हेरेर काम गर्नुपर्नेमा सबै निकाय सचेत छन् । सम्पर्क सञ्जाल जोड्नका लागि छिट्टै र सहजै बन्ने झोलुङ्गे पुल, स्याउली पुल, बेलीब्रिजलगायतका बाटो बनाउने योजनामा काम सुरु भएको छ । बेलीब्रिज बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्