Logo

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार सङ्क्रमित



काठमाडौं, २ भदौ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ ।

गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को तथ्याङ्कमा उल्लेख छ । गतअसार महिनामा नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो ।

हालसम्म जिल्लाका १३ हजार ६६५ मा सङ्क्रमण देखिएकामा १८२ को मृत्यु भएको छ । यसमध्ये करिब साढे तीन हजार गत सालका सङ्क्रमित हुन् भने १० हजारभन्दा बढी सङ्क्रमणको दोस्रो लहर सुरु भएयताका हुन् । हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० सङ्क्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि सङ्क्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

हाल दैनिक सङ्क्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । “सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«सिङ’मा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ ।

सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई आवश्यक अक्सिजनसहित पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ ।

केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिइएको बताए । उनले भने, “सङ्क्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ ।” उनका अनुसार सङ्क्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्