काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजनको सबै तयारी पूरा गरिसकेपनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अगाडि बढिहाल्न सकेका छैनन् । विद्यमान राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुग्नेपर्नेमा नेपाल पक्षसँग संख्या नरहेपछि अध्यादेशको सहारा लिनुपरेको छ ।
अध्यादेश जारी भएलगत्तै माधव नेपालले नयाँ दल दर्ता गर्ने भएका छन् । तर, नेपाल पक्षकै केही नेताहरु अझै पार्टी एकता जोगाउन सक्रिय छन् । लामो समय नेपालसँग सहकार्य गरेका भीम रावल कुनै हालतमा पार्टी फुटाउन नहुने पक्षमा छन् । गोकर्ण बिष्ट र योगेश भट्टराईको लाइन त्यही छ । सुरेन्द्र पाण्डे र भीम आचार्य पार्टी एकता जोगाउन वार्ताका लागि दौडिएका छन् ।
माधव नेपाल पक्षमा रहेर प्रस्तावित नयाँ दलको डकुमेन्ट समेत तयार गरेका घनश्याम भुसाल समेत अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर पार्टी एकताका लागि अन्तिम पहल गर्न खोजिरहेका छन् । माधव नेपाल पक्षका यी हस्तीहरु अन्तिम समयसम्म एमाले फुट्न नदिन लागिरहँदा रामकुमारी झाँक्री भने पार्टी दर्ताका लागि आतुर छिन् ।
झाँक्रीले मङ्गलबार नै सार्वजनिक रुपमा नयाँ पार्टी खोल्न लागेको बताइसकेकी छिन् । उनले एमाले एकताका लागि दौडिएकाहरुको समेत आलोचना गरेकी छिन् । विगतमा पनि माधव नेपाल पक्षबाट कुनै जिम्मेवारी नपाई त्यसै दौडिएको भनी झाँक्रीसहित डा. विजय पौडेललगायतले आलोचना गरेका थिए ।
रामकुमारी झाँक्री एमाले विभाजनमा आतुर हुनुमा ओलीसँग उनको विगत देखिको असन्तुष्टि पनि कारण छ । उनी ओलीको नामै सुन्न चाहन्नन् । ओली प्रधानमन्त्री हुँदा उनलाई जेल हाल्न सम्म खोजिएको थियो । अर्को पक्ष उनले एकीकृत एमालेमा भन्दा नयाँ दलमा भविष्य देखेको बुझिएको छ ।
नयाँ दल बनेमा भविष्यमा प्रचण्डसँगको सहकार्य हुने देखेर पनि भाँक्री उत्साही छिन् । गुल्मीकी झाँक्रीले त्यस क्षेत्रमा अहिलेको एमालेबाट चुनाव लड्न टिकट पाउन कठिन छ । उनको क्षेत्रमा एमालेका अर्का हस्ती गोकर्ण बिष्टले चुनाव लड्दै आएका छन् । बिष्ट एमालेमै रहने भएपछि झाँक्रीलाई अर्को चुनाव गुल्मीबाटै लड्न सजिलो हुन सक्छ ।-फाइल तस्बिर