काठमाडौं, २ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री बने । उनलाई आएको प्रधानमन्त्री पद नै उनका लागि गतिलो अस्त्र बन्यो । यही पदले नेकपा एमाले र जनता समाजवादी पार्टीभित्र भाडभैलो मच्चियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटे । ओलीलाई साथ दिदै आएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि धक्का पुग्यो । एमालेभित्र रडाको मच्चियो । जसपाको विवाद पनि निर्वाचन आयोगले टुंग्याएर उपेन्द्र यादवलाई आधिकारिकता दियो । एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्ष छटपटीमा पर्यो ।
माधव नेपाल र महन्थ ठाकुर दुवैले पार्टी विभाजन चाहे । तर, राजनीतिक दलसम्बन्धी ऐनले व्यवस्था गरेको विभाजनको प्रावधान अनुसार नेपाल र ठाकुर दुवैसँग आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद थिएनन् । देउवालाई दुवैले अध्यादेश ल्याएर सहज बनाउन आग्रह गरे ।
आफ्नो प्रमुख प्रतिद्वन्द्वी नेकपा एमाले र अर्को प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी फुटाउँदा देउवालाई फाइदा नै थियो । उनी रोकिएनन् । अध्यादेश ल्याइदिए । एउटै अध्यादेशले एमाले र जसपा फुट्ने भयो ।
नेपाली काँग्रेसभित्र २०७४ को आमनिर्वाचनमा कमजोर परिणाम ल्याएकोले आरोप खेप्दै आएका देउवालाई पछिल्लो घटनाले ऊर्जा दिएको छ । महाधिवेशन समेत समयमा गर्न नसक्दा दबाबमा रहेका उनले पछिल्लो विकसित घटनाले उक्त विषयलाई ओझेलमा पार्न सकेको छ ।
देउवाले अध्यादेशमार्फत् एक फायरबाट दुई शिकार गर्न सकेका छन् । अर्कोतर्फ्, महाधिवेशनका लागि आफ्नो स्थितिलाई मजबुत बनाउन सकेका छन् ।