Logo

साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा



काठमाडौं, भदौ ३ । वाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतको अनुपातमा भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७८ असार मसान्तभित्र त्यस्ता क्षेत्रमा न्यूनतम ११ प्रतिशतको अनुपातमा एक करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्न निर्देशन दिएको थियो । तर, त्यस्ता क्षेत्रमा १० दशमलव एक प्रतिशतको अनुपातमा मात्र कर्जा प्रवाह भएको छ । यो भनेको साना तथा मझौला उद्याममा शून्य दशमलव नौ प्रतिशत विन्दुले कर्जा प्रवाह अपुग हो ।

रकमको आधारमा उक्त क्षेत्रमा तीन खर्ब २७ अर्ब ८० करोड प्रवाह भएको छ । गत आवको असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले करीब ३७ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत २०७८ असारसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असारसम्म १२ प्रतिशत, २०८० असारसम्म १४ प्रतिशत र २०८१ असारसम्म १५ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा प्रतिऋणी एक करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । वाणिज्य बैंकको हकमा गरिएको यो व्यवस्थालाई चालू आवको मौद्रिक नीतिमा पनि निरन्तरता दिइएको छ । तर, कार्यान्वयनको पहिलो वर्षमा तोकिएको दरमा कर्जा प्रवाह हुन सकेको देखिँदैन ।

राष्ट्र बैंकले यस विषयलाई लिएर बैंकहरूलाई कुनै कारबाही भने नगर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले यसपटकलाई यस विषयमा बैंकहरूलाई छूट दिइएको बताए । अब चालू आवको मसान्तसम्म एकमुष्ट रूपमा तोकिएको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

चालू आवको मसान्तभित्र वाणिज्य बैंकहरूले १२ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot