Logo

के अफगानी राष्ट्रपति गनी करोडौं डलर चोरेर भागेका हुन् ?



एजेन्सी, ३ भदौ । तालिवानले काबुल कब्जा गर्न लागेपछि विमान चढेर अफगानिस्तान छाडेका राष्ट्रपति असरफ गनीले ठूलो परिमाणको पैसा साथमै लगेको चर्चा चलेको छ । उनले विमानमा सकेजतिको पैसा हालेर भागेको चर्चा चलेको चार दिनपछि मुख फोरेका छन् ।

गनी कहाँ गए भन्ने समेत अज्ञात थियो । अहिले उनी संयुक्त अरब इमिरेट्समा रहेको खुलेको छ । त्यहाँबाट उनले फेसबुक भिडियोमार्फत् रक्तपात हुन नदिन देश छाडेको बताएका छन् । उनले आफूले ठूलो परिमाणमा रकम लिएर गएको भन्ने आरोप पनि अस्वीकार गरे ।

सरकारी अधिकारीहरुको सल्लाहका आधारमा देश छाडेको गनीको दाबी थियो । उनले काबुललाई अर्को यमन वा सिरिया नहोस् भनेर देश छाडेको बताए ।

करोडौं डलर रकम लिएर भागेको आरोपबारे उनले भने, ‘मैंले कोट र केही कपडाको भरमा देश छाडेको हुँ । मेरो चरित्रहत्या गर्न खोजिएको छ र मैंले रकम लगेँ भन्ने आरोप निराधार झुटा हुन् । तपाईं भन्सार अधिकारीहरुसँग यसबारे सोध्न सक्नुहुन्छ ।’

बुधबारसम्म गनी कहाँ छन् भन्नेमा अनुमान मात्र थिए । उनी ताजिकिस्तान, उज्वेकस्तान वा ओमान गएको चर्चा थियो । तर, बुधबार युएईले गनीलाई मानवताको आधारमा शरण दिइएको खुलाएको थियो ।

ताजिकिस्तानका लागि अफगानी राजदूत मोहम्मद जहिर अगबरले गनीमाथि १६ करोड ९० लाख डलर राज्यको रकम चोरेर लगेको आरोप लगाएका थिए । राज्यमाथि घात गरेको आरोप समेत लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot