काठमाडौं, ३ भदौ । नेकपा एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षधर मानिएका दोस्रो पुस्ताका हस्तीहरु रोक्किए । नेपालले दर्ता गरेको नेकपा एमाले समाजवादी मा उनीहरुको नाम केन्द्रीय कमिटीमा देखिएन । दशकौंयता माधव नेपालसँगै रहेर काम गरेकाहरु पनि पछि हटे ।
नेपाल समूहबाट नवौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेर निर्वाचित भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले विभाजनलाई साथ दिएनन् । सचिवमा नेपाल पक्षबाट निर्वाचित गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल पनि एमालेमै रहे ।
माधव नेपालसँग लामो सहकार्य गर्दै आएका सुरेन्द्र पाण्डे पनि पछि हटे । नेपाल पक्षबाट महासचिवको उम्मेदवार बनेर ईश्वर पोखरेलसँग झीनो मतान्तरले पराजित पाण्डेले समेत साथ छाडे । आखिर यी हस्तीहरुले किन माधव नेपालको साथ छाडे ?
विश्वस्त स्रोतका अनुसार एमालेका दोस्रो पुस्ताका नेताहरुबीच आगामी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भद्र सहमति भएको छ । पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व स्थापित गर्न फरक पक्षका नेताहरु एकजुट हुने सहमति बनेको छ ।
भीम रावल र ईश्वर पोखरेलको एक्ला एक्लै भेट भएको थियो। त्यसपछि सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, गोकर्ण बिष्टलगायत नेताहरुको भेटले अबको महाधिवेशनपछि नयाँ नेतृत्व चयन गर्ने गरी अगाडि बढ्ने सहमति गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ नेतृत्व स्थापित गर्न लचकता देखाउने उनी पक्षका नेताहरुको आश्वासन पछि नेताहरु रोक्किए ।
माधव नेपालले फरक पार्टी दर्ता गरेपछि एमालेमा विगतमा नेपाल पक्षमा लागेकाहरुलाई उचित स्थान दिने आश्वासन समेत मिल्यो । अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनिन् । अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन ओली तयार भएका छन् । यसकारण पनि दोस्रो पुस्ताका नेताहरु रोक्किएका छन् ।