काठमाडौं, ३ भदौ । नेकपा एमाले २०५४ सालमा पनि फुटेको थियो । त्यतिबेला भारतसँगको महाकाली सन्धीको मुद्दाले विवाद बढ्दै जाँदा एमाले फुटेको थियो । तर, यतिबेला एमाले फुटमा केपी शर्मा ओली र माधवकुमार नेपालको व्यक्तिगत टकराव नै मुख्य कारण हो ।
ओली र नेपालबीचको शक्तिसंघर्षमा झलनाथ खनाल र बामदेव गौतम पनि देखिए । यी चार नेताले एमालेलाई झण्डै ३ दशकयता चलाइरहेका छन् । नेतृत्व विकासको हेतु ७० पुगेपछि पार्टीको केन्द्रीय कमिटीलगायत कार्यकारिणी पदहरुमा नरहने र सल्लाहकार कमिटीमा मात्र रहने विधानले व्यवस्था गर्यो । तर, त्यसलाई यीनै ४ नेताले उल्लंघन गरे ।
ओली र नेपालबीचको व्यक्तिगत टकरावले एमाले फुट्नबाट जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय भइरहे । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, सुरेन्द्र पाण्डेलगायत फुट रोक्न लागिरहे । सहमतिको बुँदा बनाएर कोटेश्वर र बालकोट दौडिइरहे । तर, केही लागेन ।
ओली र नेपालबीचको टकरावले एमाले विभाजन निश्चित बनायो । विभाजनमा ओली र नेपाल दुवै दोषी रहेको निष्कर्षमा दोस्रो पुस्ताका नेताहरु पुगे । केही बढी र घटी मात्र हो भन्ने निष्कर्ष निकाले । तर, उनीहरुले ओली र नेपालको मात्र पार्टी नभएको भनेर हस्तक्षेप गर्न सकेनन् ।
एमाले विधानमा उल्लेख भएको विषय समेत लागू गराउने आवाज उठाउने आँट गर्न सकेनन् । एमालेका दोस्रो पुस्ताका नेताहरुले पार्टी एकताका लागि साहस गर्न सकेनन् । बरु सबै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नेतर्फ लागे । राजनीतिक सौदावाजीमा सक्रिय हुनथाले । उनीहरु एमाले फुट्दा तमासे मात्र बने ।
माधव नेपालले २५ प्रतिशत एमाले शक्ति लिएर पार्टी फुटाएका छन् । हस्तीहरु धेरैजसो एमालेमै रहे । माधव नेपालको साथ छाडे । तर, यही अवस्थामा एमाले र एमाले समाजवादी चुनाव लड्ने हो भने नराम्रो झड्का लाग्ने निश्चितप्रायः छ ।
२०७४ सालको आमनिर्वाचनमा एमालेले जितेको १२१ सिटको मुख्य कारण नेकपा माओवादी केन्द्रसँगको गठबन्धन पनि कारण हो । त्यसमाथि मधेश केन्द्रित दल र नेताहरुसँग पनि भित्री सहकार्य थियो । अब एमाले र माओवादी नेकपाबाट फुटेको अवस्था छ । त्यसमाथि एमालेको २५ प्रतिशत शक्ति समेत फुटेर गएको छ । यो शक्तिले चुनावमा जित हासिल गर्ने भन्दा कति क्षति पुर्याउनेछ भन्ने महत्वपूर्ण विषय भएको छ । एमाले यथास्थितिमा चुनावमा जाँदा ठूलो धक्का भोग्न वाध्य हुनसक्छ ।
यस्तो अवस्था जान्दाजान्दै एमालेका दोस्रो पुस्ताका हस्तीहरुले जोखिम मोलेर पार्टी बचाउन सकेनन् । बरु ओली र नेपालले आफ्नो राजनीतिक भविष्यका लागि पटक पटक जोखिम मोल्दै आए । त्यसैले उनीहरु ३ दशकयता एमालेको नतृत्व पंक्तिमा रहँदै आएका छन् । दोस्रो पुस्ताका नेताहरुमा त्यो जोस र साहस देखिएन । उनीहरुले ओली र नेपाललाई मिलाउन नसकेपछि पाखा लगाएर भएपनि नेतृत्व लिएर एमाले विभाजन जोगाउन सकेनन् । फुटको तमासे मात्र बने ।