काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आजमात्रै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । अबको एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाउने सत्ता गठबन्धनका नेताहरुले दाबी गरेका छन् ।
आज एक कार्यक्रममा प्रचण्डले माधव नेपालको दल निर्वाचन आयोगमा सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । उता, प्रधानमन्त्री देउवाले भने सबै पक्षलाई समेटेर सरकार विस्तार गर्ने तयारी गरेका छन् । यसपटक उनले आफ्नो सरकारमा उपप्रधानमन्त्री नराख्ने निश्कर्ष निकालेका छन् । आफूनिकट नेताहरुसँग उनले उपप्रधानमन्त्री राख्दा क्याविनेट नै भद्दा देखिने भएकोले उपप्रधानमन्त्री कसैलाई नबनाउने निचोड सुनाएका छन् ।
सरकारमा अहिलेसम्म कांग्रेस र माओवादी केन्द्रमात्रै सहभागी छन् । कांग्रेस र माओवादी केन्द्रबाट पनि क्रमशः ३ र २ जनामात्रै सहभागी छन् । सरकारमा सहभागी हुनको लागि जनता समाजवादी पार्टी, नेपाल पनि तयारी अवस्थामा छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पनि सरकारमा सहभागी हुने तयारीमा जुटेका छन् ।
कुन दललाई कति मन्त्रालय दिने भन्नेबारे प्रधानमन्त्रीले निश्कर्ष निकालिसकेका छैनन् । तर, उनी यसपटक उपप्रधानमन्त्री नराख्ने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री देउवाको यो तयारीले सबैभन्दा बढि असर उपेन्द्र यादव र राजेन्द्र महतोलाई पर्ने देखिएको छ । उपेन्द्र यादव आँफै सरकारमा पार्टीको नेतृत्व गरेर जाने तयारीमा थिए । तर, उनी यसअघि नै उपप्रधानमन्त्री भैसकेकोले उपप्रधानमन्त्री पोर्टफोलियो मागेका छन् । उता, राजेन्द्र महतो पनि आफ्नो पार्टीको तर्फबाट सरकारमा जाने मुडमा छन् । file photo