Logo

प्रचण्डको खलनायकी भूमिकाका कारण एमालेको एकता चीरस्थायी हुन सकेन : कार्की



काठमाडौं, ५ भदौ ।  प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री तथा नेकपा (एमाले) का प्रभावशाली युवा नेता हिक्मत कार्कीले पार्टी एकताको लागि आफूहरु दश बुँदे सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले भने,‘कार्यदले प्रतिवेदन बुझाउनेबित्तिकै हाम्रो पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर त्यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेका छौं । कार्यान्वयन त भैसकेको छ नि ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले पार्टीभित्र देखिएका केही खालका चूनौति र समस्या समाधान गर्नको लागि आफूहरु लागिपरेको पनि बताए । उनले भने,‘एमालेमा अहिले केही खालको चूनौति, समस्या र घेराबन्दी देखिएको छ । त्यो घेराबन्दी तोड्ने काम र प्रयास भैरहेको छ ।’ उनले माधव नेपाल आफ्नो आदर्श नेता भएको उल्लेख गरे । तर, माधव नेपालले अहिले लिएको बाटो भने गलत भएको र नेपाल सही गन्तब्यमा नपुग्ने पनि उनको दाबी छ ।

मन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण एमालेभित्र समस्या उत्पन्न भएको पनि जिकिर गरे । उनले एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भूल भएको जिकिर गरे । नउले भने,‘राष्ट्रिय राजनीतिमा प्रचण्डको कहिल्यैपनि सकारात्मक भूमिका भएन । उहाँले कहिल्यैपनि कन्स्ट्रक्टिभ रोल देखिएन । उहाँको नीति भनेको नै ढाडमा टेकेर टाउकोमा हान्ने हो । प्रचण्डको खलनायकी भूमिकाका कारण एमालेको एकता चीरस्थायी हुन सकेन ।’
उनले एमाले र माओवादीको एकतासँगै एमालेका नेताहरु ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच समस्या उत्पन्न भएको टिप्पणी गरे । उनले भने,‘हाम्रा नेताहरु प्रचण्डको भूलभूलैयामा पर्नुभयो ।’ उनले एमाले र माओवादी एकता नै ऐतिहासिक भूल थियो भन्ने धारणा दोहोर्याए ।

उनले प्रचण्डमा एकल भूमिकामा स्थापित हुने चाहना बढि हाबी भएको पनि सुनाए । अहिलेसम्म ३४ वर्षसम्म प्रचण्डले आफ्नो पार्टीको महाधिवेशन पनि नगरेको उनको टिप्पणी छ । अहिले पनि प्रचण्ड राष्ट्रिय सम्मेलनबाट नेता घोषणा गरेर नै आउने उनको दाबी छ ।

उनले पार्टी अध्यक्ष केपी ओलीलाई आफूहरुले देवता नभनेको र दुधले नुहाएको व्यक्ति नभनेको पनि सुनाए । उनले भने,‘उहाँमा पनि मानवीय कमजोरी होला । तर, यस विषयमा छलफल गरौं । पार्टीभित्र बहस गरौं ।’ उनले ७० वर्ष पुगेको माधव नेपालले नयाँ पार्टी खोलेकोमा व्यंग्यसमेत कसे । उनले भने,‘अब यो भौतिकवादमा अध्यात्मपनि थप्नुपर्छ जस्तो लागेको छ। होईन भने यो वनपरास्त गर्ने, शान्तिपूर्ण जीवन यापन गर्ने बेलामा ७० वर्ष पुगेको माधव नेपाल किन नयाँ पार्टी खोल्नुहुन्थ्यो र ?’

उनले पार्टी विभाजनको दोष केपी ओलीलाई मात्रै दिनु पनि गल्ती हुने बताए । उनले भने,‘होला, केपी ओलीले दमन गरे भन्नुभयो, आफ्ना मान्छेलाई नियुक्ती दिईयो भन्ने कुरा पनि यहाँ आयो । तर, अहिले माधव नेपालले आफ्नो पिएलाई बागमती प्रदेशको प्रदेश प्रमुख बनाउनुभयो । पिए भनेको त आफ्नो घरको मान्छेजस्तो होईन र ?’
उनले पार्टीलाई २०७५ जेठ २ गते नै फर्काईएको र दश बुँदे प्रतिवेदन पनि पालना भएको जिकिर गरे । उनले भने,‘दश बुँदे सहमति कार्यान्वयन सुरु भैसकेको छ । दल दर्ता फिर्ता गर्नुहोस, आउनुहोस बैठकमा ।’ उनले हिजो आफूहरुसँग बहुमत छ भन्ने माधव नेपाल समूह किन २० प्रतिशतमा खुम्चिएको भन्दै प्रश्नसमेत गरे । उनले भने,‘२० प्रतिशतले ८० प्रतिशतलाई हल्लाउन सक्ला त ?’

 



प्रतिक्रिया दिनुहोस्