Logo

यसकारण अष्टलक्ष्मीले सुर्य चिन्ह छाड्दिनन्



काठमाडौं, ६ भदौ । २५ वर्ष अघि नेकपा एमालेभित्र महाकाली सन्धीको विषयले ठूलो विवाद जन्मायो । महाकाली सन्धीको पक्षमा प्रतिनिधि सभामा मतदान गर्ने या नगर्ने विषयमा एमालेको केन्द्रीय कमिटी बैठकले मतदानबाट टुंग्याउने निर्णय लियो ।

सन्धीको पक्षमा माधवकुमार नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल, मुकुन्द न्यौपाने, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेलगायतका नेताहरु उभिए । विपक्षमा वामदेव गौतम, सीपी मैनाली, राधाकृष्ण मैनाली, साहना प्रधान, अमृतकुमार बोहरा, तुल्सिलाल अमात्य , विष्णु पौडेललगायत उभिए । त्यतिबेला मनमोहन अधिकारी मतदानमा अनुपस्थित भएका थिए । तटस्थ रहनेमा अष्टलक्ष्मी शाक्य र राजेन्द्र श्रेष्ठ थिए ।

अष्टलक्ष्मी शाक्य महाकाली सन्धीको पक्षमा थिइनन् । तर, उनी मतदानमा तटस्थ बसेर एमाले विभाजन हुन नदिने प्रयासमा लागिन् । विपक्षमा उभिएका अमृत बोहराले एमाले फुट्दा बामदेव गौतमलाई साथ दिएनन् । अष्टलक्ष्मीले पनि दिइनन् ।

२५ वर्षअघिको घटनालाई केलाउँदा अमृत बोहरा र अष्टलक्ष्मी शाक्य आफ्नो मुद्दा पराजित भएपनि पार्टी फुटाउने पक्षमा उभिएनन् । उनीहरुको मुद्दा बामदेवसँग मेल खाएपनि पार्टी फुटाउँदा साथ दिएनन् । ठिक त्यसैगरी, अष्टलक्ष्मीले माधवकुमार नेपाललाई मुद्दामा साथ दिएपनि पार्टी फटाउँदा साथ दिइनन् ।

शाक्य अहिले बागमती प्रदेशको मुख्यमन्त्री छिन् । उनले शनिबार आफूलाई केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको साथ रहेको दाबी गरिन् । एमाले एकताको पक्षमा रहेको बताइन् । उनले अझै तटस्थ रहेको सन्देश दिइन् । जसरी उनी महाकाली सन्धीबारे संसदमा मतदान गर्नेबारे एमाले केन्द्रीय कमिटी बैठकमा मतदान हुँदा तटस्थ थिइन् । महाकाली सन्धीबारे प्रतिनिधि सभामा मतदान गर्न पनि गइनन् । उनको अहिलेको कार्यशैली २५ वर्ष अघिको जस्तै देखिएको छ ।

अष्टलक्ष्मी शाक्यले सुर्य चिन्ह भने नछाड्ने स्पष्ट सन्देश दिएकी छिन् । उनले यसपटक पनि ओलीलाई नभई एमाले र सुर्य चिन्हको पक्ष लिएको सन्देश दिइरहेकी छिन् । पार्टी फुटाउने पक्षमा कुनै हालतमा नरहने बताइसकेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्