काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का तेस्रो धारका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्तामा छन् । भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका तेस्रो धारका नेताहरु यतिवेला अध्यक्ष ओलीको बालकोट निवासमा छन् ।
यो समूहले दश बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई भोलिसम्मको अल्टिमेटम दिएको छ । तर, अध्यक्ष ओलीले भने दश बुँदे सहमति कार्यान्वयनमा गैसकेकोले अब ती नेताहरुलाई पार्टीमा फर्किएर काम गर्न भनेका छन् । ओलीको चित्तबुझ्दो जवाफ नआएकै कारण यतिवेला तेस्रो धारका नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।
तेस्रो धारमा ५७ जना केन्द्रीय सदस्य तथा सांसदहरु रहेको भनिएको छ । पार्टी विभाजन हुनुअघि अधिकांश नेताहरु माधव नेपाल समूहमा थिए । अहिले माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
अयोगले सनाखतको लागि बुधबारको लागि नेताहरुलाई बोलाएको छ । अध्यक्ष ओलीसँगको आजको वार्ता सकारात्मक नभए धेरै नेताहरु माधव नेपालको नयाँ पार्टीमा आउनेपनि केही नेताहरुले दाबी गरेका छन् । file photo